झोलुंगे पुल,पहिचान र प्रर्वद्धन

सम्पादकीय
बागलुङ जिल्लासँग नेपाल भित्रको नेपाल पहिचान छ । सिंगो नेपालको नक्सा र जिल्लाको भूगोलको नक्सा उस्तै उस्तै छ । यसकारण बागलुङको पहिचान नेपाल भित्रको नेपाल त हुँदै हो । यसका साथै अर्को बलियो पहिचानको रुपमा झोलुंगे पुलको जिल्ला पनि हाम्रो परिचय थियो र आजको दिन सम्म विद्यमान छ । यही क्रममा थपिएको छ–बागलुङ र पर्वत जिल्ला जोड्ने झोलुंगे पुल । बागलुङ सदरमुकामको बांगैेचौर र पर्वतको कुश्मा नगरपालिका अदुवाबारी जोड्ने पुल नेपालको हाल सम्मकै लामो पुल हो । ५ सय ६७ मिटर लामो रहेको यो पुल विश्वकै लामो भएको दाबी समेत गरिएको छ । यद्यपि, स्वीजरल्याण्डमा ५ सय ९४ मिटर लामो पुल रहेको चर्चा पनि छ । जे होस् यो पुल धेरै प्रयत्नका बीच निर्माण भएको छ । शनिवार विशेष समारोहका बीच उद्घाटन पनि गरिएको छ । यो बागलुङ र पर्वत जिल्लाबासी दुवैका लागि सुखद विषय हो ।

कालीगण्डकी नदी माथि निर्माण गरिएको पुलको धेरै विशेषता छन् । यो पुल कालीगण्डकी नदी माथि मात्रै छैन । दुई वटा महत्वपूर्ण राष्ट्रिय राजमार्ग माथि निर्मित छ । मध्यपहाडी लोकमार्गको बागलुङ प्रवेश भएर बुर्तिबाङ हुँदै रुकुम जाने बाटो पनि हो भने अर्को तर्फ भूपी शेरचन राजमार्ग अन्र्तगत काठमाण्डौं पोखराबाट पर्वत मालढुंगा हुँदै म्याग्दी मुस्ताङ जाने मार्ग पनि यही पुल तल छ । पुलमा बसेर दुवै तर्फका सवारी आवागमनको लावालस्कर पनि नियाल्न सकिने अवसर छ । यसका साथै पुल नजिकै बागलुङ तर्फ प्रसिद्ध बागलुङ कालिका भगवति मन्दिर छ । यसको आफ्नै महत्व र महिमा छ । सस्पेन्सन बिज्र डिभिजन कार्यालयले देशमै पहिलो पटक बनाएको यो पुल स्वयम् कार्यालयकै लागि पनि सिकाईको विषय बन्यो । यति लामो पुल निर्माण गर्ने यन्त्र उपकरण र सीप कौशल भएको जनशक्ति पनि थिएन । यसमा नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही प्राविधिक इञ्जिनियरलाई विदेश पठाएरै सीप सिकायो । प्रविधि पनि भित्रायो । र त्यसको पहिलो इतिहास रच्ने या लेख्ने अवसर बागलुङ पर्वतले प्राप्त गरेको छ ।

नेपालमा ३ सय ६० मिटर भन्दा लामो निर्माण हुन नसक्ने अवस्था अब यहाँबाट अन्त्य भएको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने पुलबाट सुरु भएको लामो पुल निर्माणको यात्रा अब लामो दुरी नभएका कारण रोकिएका सबै ठाउँमा निर्माण थाल्ने अभियान सुरु हुनेछ । जसका कारण घण्टौ पैदल यात्रा गर्न बाध्य स्थानीय आसपासका बासिन्दालाई नियमित दैनिकीमा सहज त हुनेछ नै । यसका साथै यस्ता पृथक विशेषता बोकेका पुलहरु पर्यटकीय आकर्षणका हिसाबले पनि महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना बोक्नेछन् । यो पुल निर्माणसँगै अब बागलुङ आउने आगन्तुक पर्यटक पाहुनालाई देखाउने घुमाउने यो आकर्षक स्थल बन्नेछ । यसमा अब वारी पारी दुवै स्थल तर्फ थप पर्यटनमैत्री संरचना निर्माण गर्नुपर्नेछ । साँझपख यस स्थलमा अवैध र उश्रृंखल गतिविधि समेत हुने गरेको गुनासो पनि आइरहेका छन् । यसमा स्थानीय प्रहरी प्रशासनले समयमै कदम चाल्न आवश्यक छ । अब यो पुललाई सुरक्षित, धौलागिरीको आकर्षण मात्र होइन, आयआर्जन गर्ने अवसरहरु समेत सिर्जना गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *