तथ्य खतरा, अवस्था नाजुक

सम्पादकीय
देश राजनीतिक स्थिरता तर्फ उन्मुख भएको खुसी र उत्साह मनाउँदै गर्दा तीन वर्ष नपुग्दै मुलुक गम्भीर मोडमा छ । पाँच वर्षका लागि जनादेश प्राप्त संसद एकाएक विघटनको निर्णयले देश फेरी दैनिकजसो आन्दोलित हुन थालेको छ भने नेपाल पुनः एक पटक अनिश्चियको भूमरीमा फसेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको टकरावले सिंगो देश नै फेरी पछाडि फर्किने अवस्थामा पुगेको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त नयाँ संविधान आफै धरापमा परेको छ । नेकपा नेतृत्वको सरकारले घोषणा गरेको सुखी नेपाली समृद्ध नेपालको नाराले उनै पार्टी र नेताहरुलाई नै नराम्ररी गिज्याउन थालेको छ । यसमा देशको पछिल्लो तथ्य र तथ्यांकले भने देशभक्त नागरिकहरुलाई झस्काएको मात्र छैन, चिन्तित पनि तुल्याएको छ ।

राष्ट्रिय योजना आयोगले कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले सुखद संकेत गर्दैन । यो प्रतिवेदनले आर्थिक वर्ष २०७६÷७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६÷७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ । यही बीचमा कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसंख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको छ । जसका कारण कोभिड १९ ले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने देखिएको छ । गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी समेत घटेको छ । आव २०७५÷७६ मा नेपालीको प्रतिव्यक्ति आम्दानी १०३९ थियो । सरकारले यो वर्ष १०८५ अमेरिकी डलर प्रतिव्यक्ति आय पुग्ने प्रक्षेपण गरेको थियो । तर, नतिजामा भने मात्र १०६७ डलरमा सिमित भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिलेको बेला मानव सभ्यताकै कठिन संकटका बेला थियो । यो समय र संकटमा सबै एकतावद्ध भएर सामना गर्नुपर्ने थियो । तर, अवस्था त्यस्तो रहेन । सत्ताको बागडोर सम्हालेकै नेताहरुका बीचमा तिव्र मतभेद भयो । एकले अर्कोलाई पार लगाउने नेताहरुको रस्साकस्सीमा सिंगो देश र आम नेपाली नागरिक अप्ठ्यारोमा पर्ने अवस्था सिर्जित भयो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र नयाँ संविधान जारी भएर तीन तहको सरकार बनेपछि विकास, परिवर्तन र राजनीतिक स्थिरताले जागृह आशा एकाएक बिलाएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा हराएको छ । यस्तो अवस्थामा हाम्रा तथ्य र तथ्यांकले अझ थप खराब दिशा तर्फ देश जाने संकेत गरिरहेको छ । हाम्रा राजनीतिक पार्टी र नेताहरु भने आआफ्नै रोइलो गर्दै हिँडिरहेका छन् । उनीहरुमा कुनै ग्लानी र लज्जाबोध देखिन्न । अब हर नागरिकनै सचेत र जागरुक भएर खबरदारी गर्नु अपरिहार्य भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *