अडानमा नअडिने नेता र नेपाल

सम्पादकीय
संविधानसभाको दुई कार्यकाल अध्यक्ष भएर इतिहास रचेका सुवास नेम्वाङले नयाँ संविधान जारी गरे पश्चात संसदिय पत्रकारहरुलाई प्रशिक्षित गर्दै भनेका थिए–२०४७ सालको संविधानमा भएका कमजोरीहरु अहिले हटायौ, अब पहिले जस्तो कुनै प्रधानमन्त्रीले क्षणभरको सनकका भरमा संसद विघटन गर्न पाउने व्यवस्था हटायौ । यो तत्कालिन समयको भिडियो केही सातादेखि निकै भाइरल पनि भइरहेको छ । र नेम्वाङको तिव्र आलोचना पनि । तर, उनी यसका बिषयमा अझै पनि खुलेर बोल्न र प्रतिक्रिया दिन चाहिरहेका छैनन् । उनले प्रतिनिधिसभा विघटन पछि यसै साता एक कार्यक्रममा यति मात्रै भनेका छन्–‘अहिलेको संसद विघटन हुनुमा अर्कै कारण छ ।’ के कारण हो ? त्यो खुलाएका छैनन् । उनैलाई थाहा होला । यो नेताहरुको बोली र व्यवहार बीचको अन्तर कति हुँदोरहेछ ? भन्ने एक गतिलो उदाहरण हो ।

नेपाली राजनीतिमा यस्ता पात्र र प्रवृत्तिले निकै प्रश्रय पाइरहेको प्रतित हुन्छ । पछिल्लो समय संघदेखि प्रदेश र स्थानीय तहमा पनि अधिक सत्ता बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी विधानतः विभाजन नभए पनि औपचारिक रुपमा बिभाजित अवस्थामा छ । यो बेला मात्रै अनगिन्ती घटना र उदाहरण यस्ता छन् । प्रभु साहले सामाजिक सञ्जालमा ओलीको कदमको कडा विरोध गरे तर भोलिपल्ट मन्त्री पाएपछि उनी अचानक ‘यू टर्न’ भए । रघुवीर महासेठ, गौरीशंकर चौधरीहरुले पनि त्यसै गर । सोमबार मात्रै प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संसद विघटनको निर्णय पश्चात राजीनामा दिएर अविश्वास प्रस्ताव दर्तामा गरेको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिन् । प्रधानमन्त्री केपी ओली समूहको नेकपाले पुस ९ मा केन्द्रीय सदस्य पदमा मनोनयन गर्दा विश्वास र भरोसाका साथ जनताले अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा केन्द्रीय सदस्य पद स्वीकार गर्न नसकिने उद्घोष सहित अस्वीकार गरेका उनी गत सोमबार युटर्न भइन् । केही दिनबीचमै दुई–दुई वटा पद त्यागेर प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भनेर आफ्ना समर्थकमाझ मात्रै होइन, ओलीइतर समूहको पनि वाहवाही बटुलेकी उनले अचानक किन र कसरी बदलिइन् ? विषय रोचक र गम्भीर दुवै छ ।

यो त केवल प्रतिनिधि घटना र उदाहरण हो । यस्तो पात्र र प्रवृत्ति देशका हर क्षेत्रमा देखिन्छ र भेटिन्छ । त्यो पनि कुनै अपरिपक्व, अनुभवहिन किशोर या युवामा होइन । लामो राजनीतिक संघर्ष र अनुभवले खारिएका, वर्षौंदेखि पार्टी संगठनमा काम गरिरहेका नेताहरुमै बढी देखिन्छ । यसले के संकेत गर्दछ भने देशमा अहिले मूल्य, विचार, आस्था र निष्ठाको राजनीति हराउदै जाने विन्दुमा छ । विचार, सिद्धान्त र निष्ठाको राजनीतिलाई माठ दिएर केबल अवसरमा रमाउने स्वार्थ समूह बढ्दो छ । यी र यस्ता पात्र र प्रवृत्ति मुलुकका लागि सबै भन्दा घातक सावित हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *