खोपले जगाएको आशा

सम्पादकीय
एक वर्ष अघि कोरोना भाइरसको विश्वव्यापी रुपमा सुरु भएको भयावह र जोखिम कायमै छ । कोरोना रोकथाम र नियन्त्रण दाबी गरिएका देशहरुमा पनि पुनः कोरोना भाइरस नयाँ रुप र शैलीमा देखा परिरहेको समाचार सार्वजनिक छ । नेपालमा पनि गत वर्षको चैत्रदेखि कोरोना संक्रमण सुरु भयो । त्यस यता हाल सम्म हजारौ नागरिक कोरोनाबाट संक्रमित मात्र बननेन् । सयौंको ज्यान समेत गएको छ । लाखौं नागरिक यसबाट प्रत्यक्ष प्रभावित छन् भने हजारौ नागरिक कोरोना भाइरस (कोभिड १९)ले रोजीरोटी गुमाउन विवश बनेका छन् । अहिले कोरोना संक्रमण र भयावह केही कम भएर नियमित दैनिकी तर्फ फर्किए पनि कोरोनाको पुरै रोकथाम, उपचार र नियन्त्रण भइसकेको छैन ।

कोरोनाको नयाँ स्वरुपको भाइरसबाट समेत बेलायतबाट आएका तीन जनामा संक्रमण देखियो । यसले फेरी नयाँ संशय र भयावह पैदा हुने संकेत गरेको छ । पूर्ववत कोरोना भाइरसको शिकार त अनगिन्ती भइरहेका छन् । त्यसको भित्र भित्रै संक्रमण र फैलावट हुने क्रम जारी छ । पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितको संख्या बढी छ । कोरोना भए पछि स्वास्थ्यमा धेरै कठिन भएको अनुभव पनि स्वयम् संक्रमितहरु सुनाइरहेका छन् । यही बेलामा कोरोना विरुद्धको खोप आउने भएको छ । भारतले दिएको कोरोना विरुद्धको खोप आज काठमाडौं आउँदैछ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ । अनुदान स्वरुप आउने यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइनेछ । भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड नामक खोप ल्याउन लागेको हो । वितरणको लागि भने केही समय लाग्ने सरकार बताइरहेछ । भारतले अनुदानमा दिएको खोप लगाउने प्राविधिक तयारी पनि भइसकेको छ । समग्र नागरिकलाई पनि छिटै खोप पुयाउने स्वास्थ्य मन्त्रालयको उद्घोष र प्रतिवद्धता छ ।

कोरोना संक्रमण र भयावहको करिब एक वर्ष पछि भए पनि खोप आउनु सुखद कुरा हो । किनकि कोरोना भाइरस विश्वभर जे जसरी फैलियो ? यसबाट लाखौ मानिस शिकार भए । उपचार नै नभएको रोग लाग्यो भन्ने सोच र संशयका कारण पनि धेरै मानिसले आत्मबल मात्र गुमाएनन्, अमूल्य ज्यान नै गुमाउन पुगेका छन् । अहिले नेपाल जस्तो विकासोत्मुख देशमा खोप आउनु आफैमा सकरात्मक विषय त हुँदै हो, त्यसमा पनि पहिलो फ्रन्टलाइनरबाट यसको प्रयोग हुनेछ । अब कोरोना संक्रमित हुनेहरु मात्र होइन, स्वास्थ्य उपचारमा खटिने चिकित्सक स्वास्थ्यकर्मीहरु पनि निसंकोच समर्पित भएर काम गर्न सहज हुनेछ । विश्वका शक्तिशाली देशमा समेत अझै सम्म नपुगेको खोप नेपालमा आउने कुरा नेपाल सरकारले गरेको पहल कदमीको उपज हो । यसका लागि सरकार धन्यवादको पात्र छ । भलै सरकारसँग कोरोना विरुद्ध एकतावद्ध भएर लड्ने बेला सत्ता, पार्टी विवाद र विभाजनको बिषयमा रुमलिएर संवेदनशील विषयमा लापरवाही र बेवास्ता गरेका कैयन गुनासो, आक्रोश र असहमति छ । तर, अहिले खोप आउने कुराले आम नेपाली खुसी र उत्साहित छन् । अब जतिसक्दो छिटो आम नेपालीको सहज पहुँच पुग्ने गरी खोप ल्याउनमा सरकारले पहल गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *