बन्द र आन्दोलनको निरन्तरको नियति

सम्पादकीय
देशमा वर्षौ जनयुद्ध, आन्दोलन, बन्द हड्ताल जारी रह्यो । नागरिकको अधिकार कुण्ठित भएको विषयलाई लिएर होस् या अरु बिभिन्न विषय र बाहनामा जनताका नाममा जनताले नै दुःख, सकस र सास्ती पाउने अनेकन आयामका आन्दोलनहरु पटक पटक भए । तर, समयक्रमसँगै २०५२ सालमा सुरु भएको जनयुद्व, २०६२÷६३ मा भएको जनआन्दोलनले नेपालमा परम्परागत व्यवस्था मात्र होइन, अभूतपूर्व राजनीतिक परिवर्तन गर्नमा उल्लेखनीय भूमिका निर्वाह ग¥यो । नेपालमा पछिल्लो दुई दशकमा जुन रफ्तारमा जे जति परिवर्तन भयो, त्यो विश्व समुदायका लागि पनि चामत्कारिक, चासो र सिकाईको विषय बनिरहेको थियो । देशमा २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नयाँ संविधान जारी भए पछि वर्षौदेखिको विकृत अस्थिर राजनीति अब लय र आफ्नै गतिमा हिँड्ने अपेक्षा आम रुपमा थियो । त्यो अहिले एकाएक खण्डित भएको छ ।

नयाँ संविधान जारी भए सँगै देशमा नयाँ संघीय अभ्यास सुरु भयो । त्यही अभ्यासको अनुक्रममा केन्द्र, प्रदेश र स्थानीय तह गरेर तीन तहको निर्वाचन भयो । जसबाट पाँच वर्षका लागि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार समेत बन्यो । नागरिक यति धेरै आशावादी बने कि अब देशमा राजनीतिक स्थिरता, विकास र परिवर्तन तिव्र रुपमा हुने भयो । अब नेपालको अस्वस्थ राजनीति, प्रतिस्पर्धा, अस्थिरताका कारण युवाहरु परदेश पस्नुपर्ने बाध्यता विस्तारै अन्त्य हुनेछ । नयाँ व्यवस्थामा आम नागरिकलाई नयाँ सरकार, संरचनाको अनुभूति हुनेछ । कुनै पनि नागरिक बेवारिसे जीवन व्यतित गर्न बाध्य हुने छैनन् । कुनै नागरिक गाँसको अभावमा भोकै बस्नुपर्ने छैन । कुनै पनि नेपाली बासको अभावमा सडकमै रात काट्नुपर्ने अवस्था हुने छैन । बेरोजगार भएकाहरुले रोजगार पाउनेछन् । यस्ता आशा कति हो कति थिए । अन्ततः यो आशा स्थायी सरकारका लागि जनताले अभिमत समेत प्रदान गरेको नेकपा र शीर्ष नेताको आन्तरिक टकरावका कारण निराशामा बिलय भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमले सम्भावनाहरु दुर भएका छन् । सम्मुखमा आएका अवसरहरु टाढिएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश बाध्यकारी कदम भएको भन्दै प्रतिनिधि सभा विघटन गरेका छन् । सत्ताको बागडोर सम्हालिरहेको नेकपा विभाजित अवस्थामा छ ।

करिब तीन वर्ष राजनीतिक स्थिरता तर्फ उन्मुख भएको आभाष हुँदै थियो । देशमा अब सबै सम्भावना र अवसर सिर्जना सरकारले नगरे पनि या गर्न सम्भव नभए पनि स्वयम् नागरिकहरु नयाँ नयाँ सम्भावना र अवसर सिर्जना गरेर देशमै केही गर्ने प्रयत्नमा लाग्दै थिए । आफै उद्यमी बन्ने स्वरोजगरामूलक व्यवसाय सञ्चालन, आफ्नै देशमा श्रम प्रतिको विश्वास र सम्मान भाव फैलिँदो थियो । एकाएक देशको राजनीति पाँच वर्ष नपुग्दै यसरी युटर्न भयो कि फेरी देश अनिश्चयको भूमरीमा फसेको छ । विस्तारै आन्दोलन, बन्द हड्तालको बिर्सिदै गरेको नियति फेरी दोहोरिन थालेको छ । देशमा दैनिक फेरी आन्दोलनहरु हुन थालेका छन् । यसले पुनः देश पश्चगमन तर्फ जाने त होइन ? भन्ने गम्भीर संशय पैदा भएको छ । अतः यसबेलामा सबैले फेरी देशलाई पुरानै अवस्था र दिशामा होइन, अग्रगमनै जाने तर्फ पहल, भूमिका र दबाब दिन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *