कोरोना विरुद्धको खोप र सुखद संकेत

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को लामो समयको संक्रमण भयावह र सकसका बीच सुखद खबर आएको छ । विश्वव्यापी रुपमा कोरोना संक्रमण देखिएको करिब एक वर्ष पुरा हुँदा बल्ल यसका बिरुद्ध भ्याक्सिन (खोप)आएको छ । उपचार र औषधि पत्ता नलाग्दा नै महिनौ बित्यो । यस बीचको अवधि विश्वभरका नागरिकका लागि तनावपूर्ण भएर बित्यो । हजारौले ज्यान गुमाए, लाखौ संक्रमित बने, करोडौंको जनजीवन प्रभावित बन्यो । यद्यपि, चौतर्फी कोरोना संक्रमण, जोखिम, यसका असरले आम जनजीवन र दैनिकी अझै अनिश्चय तर्फ उन्मुख भएको थियो । यही अवस्थाका बीच कोरोना खोप नेपाल भित्रिएको छ ।

लामो समयको सकसका बाबजुद कोरोना भाइरस विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने देशभरका ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । बागलुङमा १७ सय ३४ जनालाई आजैदेखि खोप लगाउने अभियान थालनी गरिदैछ । अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका,सार्वजनिक फोहोर संकलक तथा सरसफाईकर्मी, एम्बुलेन्स तथा शव बाहन चालक, सहचालक, कोभिड १९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइनेछ । जिल्लामा एक दिनमा १ सय ३४ देखि २ सय ५ जना सम्मलाई खोप लगाइनेछ । खोप लगाए पश्चात यसको प्रति असर पनि देखिन सक्ने सम्भावना हुन सक्छ । खोप ऐनको २०७२ को दफा २८ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ । यद्यपि गम्भीर असर देखिए क्षतिपूर्ति माग दाबी गर्दैनौं’ भनेर नेपाल सरकारले निर्णय गरेर खोप उत्पादक कम्पनीलाई लिखित प्रतिबद्धता पत्र पठाएपछि नै नेपालमा खोप आएकाले क्षतिपूर्ति दाबी नगर्ने मञ्जुरी नामा खोप लगाउनेले गर्नुपर्नेछ ।

कोरोना विरुद्धको यो खोप परीक्षण सफल पश्चात आए पनि सुरुवाती समय भएकाले यसका विषयमा समाजमा थुप्रै संशय बाँकी छ । त्यसैले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सबै फ्रन्टलाइनरलाई खोप सेवाको अवसर सदुुपयोग गर्न सुचित गरेको छ । यद्यपि, खोप लगाउन नचाहनेका लागि अनिवार्य भने गरिएको छैन । यसलाई स्वेच्छिक राखिएको छ । एकातर्फ हामी खोपको प्रतिक्षा गरिरहेका छौ भने अर्को तर्फ आइरहेको खोपका विषयमा पनि संशय राख्नुपर्ने अवस्थामा छौ । विश्वभरमा तिव्र माग भएको, उत्पादन कम भएको यस बेलामा नेपाल सरकारले खोप ल्याएर अभियान शुभारम्भ गर्नु सुखद कदम हो । अब यो अभियानलाई सफल बनाउने र अरु नागरिकलाई पनि चरणवद्ध रुपमा जतिसक्दो छिटो खोप दिने व्यवस्थाका लागि सरकारको पहल र तदारुकता थप जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *