सहिद दिवस,सम्झना र सम्मान

सम्पादकीय
दिवसहरुको लामो फेहरिस्तमा फेरी सहिद दिवस आएको छ । अधिक दिवस ३६५ दिनमा एक दिन सम्झिने र अरु दिन बिर्सिने अनुक्रममा चलिरहेको छ । त्यही नियति माघ १६ अर्थात् सहिद दिवसले भोगिरहेको सर्वत्र प्रतित हुन्छ । सहिद दिवस वर्ष दिनमा मनाउने क्रम वर्षौदेखि जारी छ । यसले मुलुकको शान्ति, समृद्धि, स्थिरता र विकासका लागि देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झना त भएको छ, तर देशमा जे जस्ता गतिविधि भइरहेको छ, त्यसले वास्तविक सहिदको सम्मान होइन, उपहास भइरहेको छ । अझ अलि कठोर शव्दमा भन्ने हो भने सहिदको सपना माथि खेलवाड र अपमान भइरहेको छ ।

सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गंगालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने तीन सहिदहरुको सम्झनामा हरेक वर्षको माघ १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा औपचारिक कार्यक्रम गरेर सहिद दिवस मनाउने गरिन्छ । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेका कारण अहिले सहिदको संख्या असिमित छ । पछिल्लो समय सडक दुर्घटनामा ज्यान गुमाएकालाई पनि सहिद घोषणा गर्ने सम्मको परिपाटीले वास्तविक सहिदहरु माथि ठुलो अपमान भएको छ ।

लामो समयको निरकुंश व्यवस्था परिवर्तनका निमित्त आफ्नो ज्यू ज्यानको आहुती दिने सहिद नेपाल र नेपालीका लागि सदा स्मरणीय छन्, सम्मानित छन् । तर, सहिदको रगत, पसिनाको बलमा सत्ताको बागडोर सम्हाल्न पुगेका नेताहरु भने माथिल्लो ओहोदा र पदमा आसिन हुँदा साथ सहिदको सपना, योगदान र बलिदान भुल्ने प्रवृत्तिमा मदहोस देखिन्छन् । सत्ताको शिखरबाट सहिद मात्र होइन, भूईमान्छेहरु पनि नदेख्ने रोगबाट हाम्रो राजनीति र नेता ग्रसित छन् । अझ अहिलेको समयमा जे जस्तो राजनीतिक घटनाक्रम भइरहेको छ, यसले त सहिदका सपना माथि चरम अपमान भइरहेको छ । यो प्रवृत्तिका हिसावले निकै खतरानक र देशका लागि बिडम्बनापूर्ण विषय हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *