बन्द हड्ताल सदाका लागि ‘बन्द’ होस्

सम्पादकीय
बन्दका विषयमा नेपालमा पटक–पटक बहस हुने गरेको छ । बन्द, हड्ताल ६० को दशक अघि र त्यस सेरोफेरोमा निकै फस्टाएको थियो । जनआन्दोलन भाग २ यता नयाँ संविधान जारी गर्दाका बखत सम्म पनि बिभिन्न क्षेत्र र समूहले असहमति राख्दै बन्द, हड्ताल र प्रदर्शन गर्ने क्रम तिव्र बन्यो । तर, त्यस यता देशमा नयाँ संघीय अभ्यास कार्यान्वयनमा आयो । नयाँ संविधानको कार्यान्वयन आरम्भ भए पछि मुलुकमा राजनीतिक स्थिरता कायम हुने ठुलो अपेक्षा थियो । र दुई तिहाइको नेकपा नेतृत्वको सरकार बने पछि यसमा अझ ठुलो भरोसा थपिएको थियो । बिडम्बना मान्नुपर्छ, देशले स्थिरतासँगै विकास र समृद्धिमा गति लिने सपना अकल्पनिय रुपमा टुटेको छ । जनताको आशा, सपना र भरोसा माथि गम्भीर खेलवाड गरिएको छ । जनताले पाँच वर्षका लागि दिएको अभिमत प्रति धावा बोल्दै तीन वर्ष पुरापुर नहुँदै संघीय संसद बिघटन भएको छ । र अहिले फेरि देश अस्थिर बाटो तर्फ उन्मुख छ ।

पछिल्लो दुई सातामा दुई वटा नेपाल बन्द भए । गत माघ १० गते सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आव्हान ग¥यो । गत पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला, ब्युरो सदस्य विवेक लगायतका नेता, कार्यकर्ता प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गैरन्यायिक रुपमा पक्राउको बिरोधमा बन्द गरियो । बिहीबार मात्र संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा सत्तासिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव पक्षले नेपाल बन्द ग¥यो । बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । राजधानी काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी समेत गरियो । ठाउँ ठाउँमा बिभिन्न अत्यावश्यकीय कामले हिँडेका सवारी साधन माथि तोडफोड र सवारी चालक माथि दुव्र्यवहार भएका घटना र दृश्य देखियो ।

बन्दकर्ताले सरकारसँग आफ्ना बिभिन्न माग र सवाललाई लिएर बन्द हड्तालको आव्हान गरे पनि यसको सिधा मारमा जनता परेका छन् । जनताका नाममा हुने हरेक बन्द,हड्ताल आयोजना गर्ने पक्षले जनतालाई नै दुःख र सकस दिने प्रवृत्ति आजको होइन, हिजोेदेखिकै छ । कतिपय जायज माग र सवालमा बन्द परिस्थितिजन्य र एउटा बाध्यात्मक परिवेशमा अन्तिम अस्त्रको रुपमा प्रयोग गर्नु स्वभाविक मान्न सकिन्छ । तर, अन्य रचनात्मक पहल, दबाबका अस्त्र अभ्यास नगरी कसैलाई देखाइदिन र प्रतिशोध साँध्न आव्हान गर्ने बन्दले जनता थप आक्रोशित बन्ने अवस्था आउन सक्छ । बन्द सधैंका लागि बन्द गर्ने अभिमत अहिले बढ्दो छ । आफुले या आफ्नो पक्षले गर्दा त्यही बन्द ठीक हुने, अरु या अर्को पक्षले गर्दा मात्र गलत हुने प्रवृत्तिबाट सबै मुक्त हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *