पत्रकारिता, नयाँ पुस्ता र भरोसा

सम्पादकीय
पत्रकारिता समाजको दर्पण हो, ऐना हो । समाजमा जे जस्ता राम्रा नराम्रा विषय, घटनाहरु हुन्छन् । त्यो सबै सभ्य, शिष्ट रुपमा देखाउने या उठान गर्ने काम पत्रकारिताले गर्छ र गर्नुपर्छ । नेपालको परिवर्तनमा पत्रकार र पत्रकारिताको योगदान र भूमिका स्मरणीय छ । नेपाली समाजमा पत्रकारिताको इतिहास लामो छ । त्यो इतिहासको अनुक्रममा पत्रकारिताको भूमिका चाहे पञ्चायतका बिरुद्वमा आवाज बुलन्दित गर्नमा होस्, बिभिन्न निरंकुश शासनका बिरुद्वमा होस् या माघ १९ को कालो दिनमा होस् या ०६२÷६३ को जनआन्दोलनमा होस् । नागरिकको हक अधिकार, अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुुनिश्चित गर्ने सन्दर्भमा पत्रकारिताको अभूतपूर्व भूमिका रहेकोमा दुई मत छैन ।

पत्रकारिता नभएको भए हाम्रो समाज र शासन व्यवस्था कस्तो हुन्थ्यो होला ? एकैछिन गम्भीरतापूर्वक चिन्तन मनन गर्ने हो भने कहाली लाग्दो परिदृश्य देखा पर्छ । व्यक्तिको मात्रै होइन, सरकार, सरोकारवाला र कर्मचारीतन्त्रको पनि स्वेच्छाचारिता कुन हद सम्म पुग्थ्यो होला ? किनकि आजको दिन सम्म पत्रकारले व्यावसायिक पत्रकारिता मार्फत निरन्तर खबरदारी गरिरहे पनि समाज र राष्ट्रमा भ्रष्टाचार, अनियमितता, हत्या, आतंक, अनेक अपराध कर्महरु भइरहेकै छन् । समाजमा शान्ति सुरक्षा, सुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्नका लागि पत्रकारिताको अहम् भूमिका हुने गरेको छ । यसर्थ राज्यले पत्रकारितालाई राज्यको चोथो अंगको रुपमा स्वीकार गरेको छ, आम नागरिकले सोही अनुरुप लिने गरेका छन् । यद्यपि, पत्रकारिता पेशालाई अझ मर्यादित र व्यावसायिक बनाउन अपरिहार्य छ ।

पछिल्लो समय पत्रकारितामा बिकर्षण देखिएको चर्चा गरिन्छ । कोरोना भयावह पछि यसबाट पलायन हुने क्रम अझ बढ्दो भएको आँकलन छ । तर, बागलुङको सन्दर्भमा यसको तथ्य केही फरक देखिन्छ । हालै मात्र नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको आधारभूत पत्रकारिता तालिममा ४० बढीको उल्लेख्य सहभागिता रह्यो । यसले अझै पत्रकारिता प्रतिको आकर्षण र विश्वास कायमै रहेको प्रतित हुन्छ । फेरि आजको दिनमा पत्रकारितालाई थप सशक्त बनाउनका लागि नयाँ पुस्ताको आगमन अपरिहार्य छ । पछिल्लो समय पत्रकारिता पढेरै आउने जमात पनि बढ्दो छ । यसलाई पेशा र व्यवसायको रुपमा अँगाल्ने एउटा कुरा छ, तर त्यो भन्दा अझ बढी यो समाज र देश प्रतिको दायित्व । सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताले मात्र हामीले इमान्दारपूर्वक पेशागत दायित्व निर्वाह गर्न सक्छौ । यसका लागि नयाँ युवा पुस्तालाई प्रोत्साहित गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *