प्रणय दिवसः स्वार्थ रहित प्रेमको सन्देश

सम्पादकीय
पछिल्लो युवा पुस्ता पश्चिमी संस्कृतिबाट प्रभावित छ । चाहे त्यो सँस्कार,संस्कृति अनुरुप दिवस, चाडपर्व मनाउने सन्दर्भमा होस् या जीवनशैली अपनाउनेमा होस् । हाम्रा पुराना परम्परा, मौलिकता, चालचलनमा ठुलो बदलाव आएको छ । मौलिकता, ऐतिहासिकता, परम्पराहरु क्रमशः भड्किदै गएका छन् । समय सापेक्ष रुपमा संस्कार, संस्कृति, परम्पराहरु परिमार्जित हुँदै जाने कुरा त भिन्न रह्यो । हामीकहाँ नयाँपन, परिवर्तन या समयको माग र गतिका नाममा विकृत श्रृंखला र अभ्यास पनि भइरहेका छन् । यसको पछिल्लो उदाहरण आइतवार युवा पुस्ताले मनाइरहेको भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस हो ।

प्रणय दिवस बाहिरबाट आयातित पर्व हो । यस्ता दिवस या चाडपर्व मनाउनु अहिले सिंगो विश्व एउटा ग्लोबल भिलेज जस्तो बनिरहेको अवस्थामा अन्यथा होइन । तर, जुन दिवस या पर्व हामी मनाउँछौ भने त्यसको ऐतिहासिकता, पृष्ठभूमि, आवश्यकता र औचित्यताबारे जरुर जान्नुपर्छ । भ्यालेन्टाइन डे नेपालमा जे जसरी जति उल्लासपूर्ण रुपमा मनाउन थालिए पनि यो किन र कसरी मनाउन थालियो ? यसकाबारे युवा पुस्ता कम जानकार छन् । खाली उनीहरु यस अवसरमा प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिरहेको आभाष हुन्छ । हजारौँं वर्षअघि रोमनका राजा क्लोडियसले आफ्नो सन्देशमा सैनिक सेवा प्रभावित हुने भयले कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए । पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवै जनाको अलग–अगल विचार ठूलो विवादको विषय बन्यो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा उर्दी अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गरे । फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिए । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन दिवस मनाउने आधार बन्यो ।

भ्यालेन्टाइन अर्थात् प्रणय दिवस केबल प्रेम प्रस्ताव राख्ने र स्वीकार्ने मात्र होइन । यो दिनले निश्चल प्रेम,त्यसप्रतिको समर्पण र विश्वासलाई स्मरण गराउने हो । प्रेमका लागि गरिने त्यागको सन्देश हो । अहिलेको देखावटी दुनियाँमा क्षणिक स्वार्थका लागि गरिने प्रेम या त्यस्ता प्रेमी प्रेमिकाले भ्यालेन्टाइन डेको बदनाम गरिरहेका छन् । यति मात्रै होइन, आफ्नो अमूल्य जीवन र सम्बन्धहरु क्षणिकतामै भत्किने गरेका छन् । यसले कैयन अप्रिय घटनाहरु पनि निम्ताइरहेको छ । त्यसैले प्रेम दिवसका नाममा सस्तो प्रेम गर्ने लहडमा होइन, एक आपसमा बुझेर बुझाएर प्रेम गरौं । जुन कुनै पनि स्वार्थ, बाधा, अवरोधहरु भन्दा माथि होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *