सरकार सत्प्रयासः सुत्केरी उद्वार

सम्पादकीय
सरकार या सत्ताको चरित्र जहिले पनि आफ्नो जयजकार या प्रंशसा गरोस् भन्ने हुन्छ । चाहे हिजोको पञ्चायत होस् या राजतन्त्र होस् या आजको सरकार । खाली यसका मात्रा, स्वरुप र शैलीमा केही भिन्न या धेरथोर हुन सक्छन् । त्यो सरकारको चरित्रमा सत्ताको दम्भ, अंहकार प्रकट भइरहन्छ । भलै सडकमा हुँदा सरकारमा जानका लागि गर्ने भाषण, प्रशिक्षणहरुमा या पार्टी दस्ताबेजहरुमा जतिसुकै सुन्दर नारा, एजेण्डा र उद्घोषहरु किन नहोउन् ? सडकबाट सत्तामा गए पछि विगत बिर्सिने परिपाटी नयाँ होइन । अहिलेको सरकार पनि ठूलो आशा, विश्वास र भरोसाका बीच बनेको थियो । यसले निर्वाचनका बेलामा जे जस्ता सपना, आश्वासन, संकल्प जनताका बीचमा बाँड्यो । त्यही आधारमा अभूतपूर्व अभिमत प्राप्त गर्न सफल भयो पनि । यद्यपि, दुई तिहाइ जनमत प्राप्त सरकार अहिले आफै संकटमा छ ।

वर्तमान सरकार अहिले जे जस्तो संकटमा देखिन्छ । यसका पर्दा अघि देखिएका र पर्दा पछि नदेखिएका अनेक कारण होलान् । यसका भेदहरु क्रमशः खुल्दै जालान् । तर, सरकारले केही नगरेको भन्ने होइन । सरकारले पछिल्ला तीन वर्षमा केही सकरात्मक कार्य र सुरुवात पनि गरेको छ । नेपालमा ग्रामिण तह सम्म सडक सञ्जालको सहज पहुँच पु¥याउने सन्दर्भमा होस् या अरु विकास निर्माणका सवालमा होस् । भलै जनताले आम रुपमा अपेक्षा गरे अनुरुप भएको छैन । दुई तिहाई जनमत प्राप्त सरकार बन्दा वर्तमान सरकार प्रतिको अपेक्षा धेरै थियो । जनताद्धारा पाँच वर्षका लागि प्राप्त जनमतको उपेक्षा भयो । यसका बाबजुद पनि नेपाल सरकार र गण्डकी प्रदेश सरकारले सहकार्यमा दूरका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम जुन आवश्यकताबोध र सोचले सञ्चालन गरियो । यसले समयमै उपचार सेवा नपाएर अकालमै ज्यान गुमाउन बाध्य सयौं माृत तथा शिशुहरुले नयाँ जीवन पाइरहेका छन् ।

बागलुङकै सन्दर्भमा हेर्दा पनि जिल्लाको दूर तमानखोला, निसीखोला, ढोरपाटन, बडिगाड लगायतका स्थानका गर्भवती र सुत्केरीहरुका लागि यो कार्यक्रम वरदान सावित भएको छ । यो कार्यक्रम नल्याएको भए भन्ने कल्पना गर्दा पनि निकै जटिल अवस्थामा उद्धार गरिएका मातृ तथा शिशुहरुको सुन्दर जीवन र परिदृश्यले झस्काउँछ । यो सत्प्रयासका लागि सरकार त स्वभाविक धन्यवादको पात्र छ । सरकारलाई गाली, गुनासो, आलोचना गर्ने अनेक विषय छन् । तर, राम्रोलाई राम्रो भन्ने चरित्र पनि नेपाली समाजलाई जरुरी छ । सरकारले दुरदराजका गर्भवती सुत्केरीका लागि लिएका कार्यक्रम जस्तै प्रत्यक्ष अनूभुत हुने खालको कार्यक्रम ल्याउन सके नागरिकले देश प्रति थप गौरवबोध गर्ने अवस्था आउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *