सम्पादकीय
नेपालका राजनीतिक पार्टी र तीनका नेताहरुको भाषण सुन्दा अहिले उदेक लाग्छ । र त नागरिकहरुमा पनि भाषण प्रति तिव्र बितृष्णा देखिन्छ । भाषणमा यसकारण पनि विश्वास छैन कि त्यो व्यवहारमा अनुवाद हुँदैन । क्षणिक लाभ, स्वार्थका लागि बिभिन्न आश्वासन दिएर ‘सेन्टिमेन्ट ब्लाक मेलिङ’ गर्ने पात्र र प्रवृत्ति बग्रेल्ती छन् । र यस्तो आश्वासनबाट जनता पटक–पटक आजित भए पनि अन्ततः तीनै नेता र भाषणमै जानी नजानी फस्ने गरेका छन् । यो नेपाल र नेपालीहरुको नियति जस्तो बनेको छ ।
देशका आशा लाग्दा, त्याग, समर्पण र बलिदानको जगबाट उठेका नेताहरु पनि किन भाषणमा चिप्लिन्छन् ? आफ्नै कद घटाउने भाषण किन गर्छन् ? किन अभद्र, अश्लिल, अराजकतामा आफूलाई उभ्याउँछन् ? अहिले त नेताहरुको भाषण सुन्दा पनि अत्यास लाग्दो हुन्छ । के बोल्ने र कुन हद सम्म बोल्ने भन्ने पनि नेताहरुले बिर्से जस्तो आभाष हुन्छ । पछिल्लो समयका यति छुद्र, निच, अपशव्द, आरोप र लाञ्छनायुक्त भाषण छन्, जसले स्वयम् वत्ता प्रति नै तिव्र घृणा र आक्रोश पैदा गर्दछ । यसका केही उदाहरण हेरे पुग्छ । नेकपा नेता रघुजी पन्तले कोमल वली प्रति लक्षित गर्दै भाषणमा भने–‘पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाए ।’ गत माघ १६ गते गोरखामा आयोजित कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्या भण्डारी प्रति लक्षित गर्दै भनेकी थिइन्, ‘विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो, सक्नुहुन्छ शितल निवास छोडेर कोटेश्वर फर्किनुस्, नत्र बालकोट गए हुन्छ ।’ नेकपाकै आशा लाग्दा अर्का नेता जनार्दन शर्मा प्रभाकरले राजधानीमा आयोजित बृहत बिरोध सभामा भने–‘वर्तमान सरकार अपांग भइसक्यो, अब छिट्टै ढल्छ ।’ आन्दोलनमा अपांगता भएकाहरु पनि ह्वील चियरमा होमिएका रहेछन् । तत्काल कार्यक्रम सञ्चालकले भाषणमा उल्लेखित शव्दले अपांगता भएकाहरुको भावनामा चोट पुगेको भन्दै सार्वजनिक रुपमा क्षमा मागे ।
हुन त नेपालको वर्तमान संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित छ । नयाँ संविधानको प्रस्तावनामै यो उल्लेखित छ । तर, स्वतन्त्रता र अराजकता दुई भिन्न भिन्न कुरा हुन् । अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा पनि यसका मर्यादा र सीमाहरु कदापि कसैले बिर्सिनु हुँदैन । पात्र र प्रवृत्तिजन्य खराबी बिरुद्ध बोल्न जरुरी छ । तर, त्यसरी बोल्दा पनि अभिव्यक्ति स्वतन्त्रताका सिमा र मर्यादा बिर्सेर अर्को गल्ती गर्ने दुस्साहस कसैले गर्नुहुन्न । बिडम्बना, शीर्षस्थ नेताहरु पनि लाज समेत लजाउने गरी आग्रह, पूर्वाग्रह र प्रतिशोध साँधेर क्षणिक आक्रोशमा भाषण गर्छन् र एकैछिनमा भाइरल बन्छन् । यो प्रवृत्तिका हिसाबले गलत हो । यस्ता पात्र र प्रवृत्तिलाई निरुत्साहित गरौं ।