मौसममा बदलावः ख्याल गरौं, आगो लाग्ला है !


सम्पादकीय
भनिन्छ–‘एउटा सलाईको काटीले संसार ध्वस्त गर्न सक्छ ।’ सलाई अर्थात् आगो त्यति शक्तिशाली छ कि यसले क्षणभरमै हामीले देखेका सुन्दर जीवन, भौतिक संरचना खरानी बनाउन सक्छ । सुन्दर बनपाखाहरु एकै निमेषमा उजाड बन्न सक्छन् । भरिभराउ शहरहरु एकाएक कंक्रिटमा रुपान्तरित हुन सक्छन् । वर्षेनी नेपाल र खासगरी पहाडी भू–भागमा अबको यो समय (फागुन, चैत्र, बैशाख) मा धेरै आगलागीको घटना हुने गरेको छ । यसबाट मानवीय तथा भौतिक, पशुंपक्षी, तीनका बासस्थान र वन क्षेत्रमा ठूलो क्षति पुगिरहेको छ ।

अहिले पनि क्रमशः जाडो हट्दैछ । गर्मी बढ्दो क्रममा छ । र केबल न्यानो बढ्ने मात्र होइन, बागलुङ र देशका ठाउँ ठाउँमा आगलागीका घटना र क्षतिका दुखद खबरहरु आउन थालेको छ । अघिल्लो साता गलकोट नगरपालिका वडा नम्बर ५ र ७ को ३ सामुदायिक वनमा भीषण आगलागी भयो । आगलागीबाट दानसिङ डाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलको जंगल क्षति भएको छ । यो आगो १७ घण्टा पछि सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा आयो । सोमवार मात्रै काठेखोला गाउँपालिकाको वडा नम्बर ३ धम्जाको माझकटेरा स्थित सामुदायिक वनमा उस्तै भीषण आगो लाग्यो । आगलागीबाट वन क्षेत्रमा धेरै क्षति पुग्यो । वस्ती समेत जोखिममा पार्ने गरी लागेको आगो स्थानीयका साथै नेपाल प्रहरी, नेपाली सेना लगायतको अथक प्रयासमा २० घण्टापछि नियन्त्रणमा आयो । मंगलबार मात्रै ताप्लेजुङको दोभान बजारमा लागेको आगोले ४९ घर जले ।

अब गर्मी र खडेरी बढ्दै जाने निश्चित प्रायः छ । यस्तो बेलामा जंगलमा मात्रै होइन, घर गाउँ, शहरमा पनि आगलागीको जोखिम बढी हुन्छ । एउटा सानो गल्ती या एक व्यक्तिको लापरवाहीले अपुरणीय क्षति बेहोर्नु पर्ने अवस्था आउन सक्छ । विगतमा पनि आगलागीको घटनाबाट मानवीय तथा अन्य क्षति भइरहेको छ । यो हरेक वर्ष नेपालमा दोहोरिरहेको नियति हो । अतः अबको सम्भावित आगलागीको जोखिमबाट जोगिन र जोगाउन सबैले यथेष्ट सचेतता अपनाऔं । साना–साना कमजोरी र लापरवाहीबाट यो मौसममा हुन सक्ने आगलागीबाट क्षति भएर पश्चाताप गर्नु अगावै संवेदनशील र जिम्मेवार बनौ, बनाऔ । गाउँ–गाउँमा यसबारे सक्दो चेतना फैलाऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *