नारी दिवसः असमानता र असुरक्षाको अन्त्य

सम्पादकीय
अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ नेपाल र बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । यसरी दिवस मनाउँदै गर्दा सिंगो देश नेपाली राजनीतिको विकसित घटनाक्रमले तरंगित छ । नेपालमा पुरानो व्यवस्थाहरु परिवर्तन हुँदै जाँदा र नयाँ व्यवस्था स्थापित भए यता महिलाको हक अधिकार सुनिश्चिततामा उल्लेख्य प्रगति छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सँगै जारी भएको नेपालको संविधानले महिलाको हक, अधिकारलाई धेरै हद सम्म सुनिश्चित गरेको छ । चाहे त्यो महिलाका अधिकारका सवालमा होस् या समानता र समावेशीका सवालमा होस् । अहिले महिलाहरुमा उल्लेख्य अवसर र अधिकार प्राप्त छ । यही अनुक्रममा सोमबार नारी दिवस मनाइएको छ । दिवस मनाउँदै गर्दा केही प्रश्न र बहस स्वभाविक रुपमा उठिरहेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवस मनाउने पृष्ठभूमि बुझ्न अलि टाढा पुग्नुपर्छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भएपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गरिएको सोही प्रारम्भिक आन्दोलनको स्मरणमा ८ मार्चलाई नारी दिवसका रुपमा मानिन्छ । यो माक्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाले समेत मनाउँछन् । नेपालमा पनि सबैजसो पार्टी, संघ संगठनमा आवद्ध महिलाहरुले यो नारी दिवस मनाउन गर्दछन् । तर, यस्ता दिवसले अझै पनि वास्तवमा पिँधमा परेका, पछाडि पारिएका वर्ग र समुदायका महिलाहरुलाई छुन सकिरहेको छैन । उनीहरु अझै पनि यस्ता दिवस, महिला अधिकार र अवसरबाट बेखबर बन्नुपर्ने बिडम्बनापूर्ण अवस्था बिद्यमान छ ।

देशमा व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको बहस तिव्र छ । यसमा महिलाहरु पनि लामो समयदेखि परिवर्तनका आन्दोलन र अभियानमा निरन्तर संघर्षरत छन् । अहिलेको जे जस्ता उपलब्धीहरु हासिल छन् । यसमा महिलाहरुको प्रत्यक्ष परोक्ष भूमिका स्मरणीय छ । तर, महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको ११३ वर्ष पुगिसक्दा आज पनि महिलाहरु उपेक्षित, अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । बलात्कार र घरेलु हिंसाका शिकार छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गर्ने प्रवृत्ति पनि कम भएको छैन । महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ । अतः महिलाहरुलाई थप सक्षम र प्रतिस्पर्धी बन्ने बातावरण बनाऔ । उनीहरुलाई कमजोर पात्रको रुपमा हेरिने सोँच र प्रवृत्ति बदलौ । महिलालाई समान अधिकार मात्र नभई अवसर पनि समान प्राप्त गर्ने अवस्था सिर्जना गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *