नेकपा खारेजः हर्ष कि विस्मात !

सम्पादकीय
नेपाली राजनीति पछिल्लो केही महिना यता नेकपा विवाद र बिभाजनले तरंगित छ । आन्तरिक विवाद उत्कर्षमा पुगे पछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे । त्यसयताका सर्वोच्चको दुई फैसलाले देशको राजनीतिमा उथलपुथल ल्याएको छ । संसद विघटनमा परेको रिटमा प्रधानमन्त्रीको निर्णय बदर गरिदिए पछि नेकपाको प्रचण्ड, माधव नेपाल पक्षले लड्डु खाएरै खुसी मनाए पनि । तर, यसरी लड्डु खाएर मनाएको खुसी सर्वोच्चको दोस्रो फैसला सम्म आइपुग्दा विस्मातमा परिणत भएको छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपालाई खारेज गर्दै पुरानै एमाले र माओवादी केन्द्र ब्युँत्याउने फैसलाले प्रधानमन्त्री ओलीलाई ठूलो राहत र प्रचण्ड, माधव नेपाल पक्षधरलाई गम्भीर धक्का लागेको छ ।

तीन वर्ष अघिको निर्वाचनमा होमिएका पार्टी एकीकरण बदर भएर पुरानै रुपमा ब्युँत्याइदिए पछि अहिले दुई पक्षबीच हर्ष र विस्मातको दोहोरी चलेको छ । केपी ओली पक्षले प्रचण्ड माधव पक्षलाई सामाजिक सञ्जालदेखि चोक चौतारीमा समेत व्यंग्य गरिरहेका छन् । खासगरी एमाले भित्र पनि माधव नेपाल पक्षधरलाई स्वागत गर्न नहुने र नेता नमान्ने कडा प्रतिक्रिया समेत छरपष्ट छन् । यद्यपि, माधव नेपाल पक्षधर समेतको सहभागितामा जिल्ला जिल्लामा सर्वोच्चको फैसला पछि नेकपा एमालेको कार्यालयमा बोर्ड राख्ने क्रम चलिरहेको छ । नेपाल पक्षधरले ओली प्रवृत्ति विरुद्ध अब एमालेमै रहेर संघर्ष गर्ने उद्घोष गरिरहेका छन् । ओली पक्षधर नेता कार्यकर्ताले भने पार्टीकै बहुमत प्राप्त सरकार ढाल्न लाग्ने नेपाल पक्षधरले आत्मआलोचना गर्नुपर्ने र भोलीका दिनमा जिम्मेवारी दिँदा समेत हिसाब राखिने चेतावनी दिइरहेका छन् ।

तत्कालीन नेकपा, अहिलेको नेकपा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता बीचमा जे जति तिक्तता, जनु स्तरमा आरोप, प्रत्यारोप भइरहेका छन्, त्यो बढी सतही र कुण्ठाग्रस्त छ । अहिले एकीकरण भएको नेकपा विभाजन हुँदा पनि एक पक्षलाई हर्ष बधाई जस्तो, अर्को पक्ष विस्मात मिले जस्तो परिदृश्य देखिन्छ । तर, अहिले कम्युनिस्ट पार्टीको सरकार र पार्टी गतिविधि जे भइरहेको छ । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले २०७४ सालमा दिएको ‘दसैं बम्पर उपहार’ अहिले नेपाल र नेपालीका लागि प्रत्युत्पादक बन्यो । इतिहासमै दुर्लभ अवसर प्राप्त दुई तिहाइको कम्युनिस्ट सरकारका लागि अभिमत दुर्भाग्यपूर्ण सावित भयो । यसबाट अझै नेता, कार्यकर्ताले पाठ नसिक्ने हो भने केबल व्यक्ति र पार्टी मात्र होइन, सिंगो देश यसको असरको भागिदार बन्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *