जसपाले सुझबुझ पूर्ण निर्णय गरोस्


सम्पादकीय /
सत्ता र शक्ति स्थायी कुरा होइन र हुँदैन । नेपाली राजनीतिको विगतदेखि वर्तमान सम्मका अभ्यास र घटनाक्रमले यसलाई अझ बढी पुष्टि गर्छ । एउटा चुनावबाट पहिलो भएको शक्ति अर्को चरणमा पुग्दा दोस्रो तेस्रोमा पनि पुगेको तथ्य छ भने दोस्रो, तेस्रो भएका पार्टी समय कालक्रममा पहिलो भएको दृष्तान्त पनि छ । यसबाट के बुझ्न या पाठ लिन सकिन्छ भने सत्ता र शक्ति भन्ने कुरा अस्थायी कुरा हुन् । सत्ता र शक्तिमा हुने र पुग्नेहरुले सोही अनुसार भूमिका निर्वाह गर्नुपर्दछ । तर, नेपाली राजनीतिको बिडम्बना मान्नुपर्छ कि जुनसुकै दल र तीनका नेताहरु सत्ता र शक्तिमा पुगे पश्चात देश र जनताका अपेक्षा र समस्या बेवास्ता गर्ने परिपाटी छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमले पनि यसलाई थप पुष्टि गर्छ । नयाँ संघीय अभ्यास पछि बनेको तीन तहको सरकारसँगै राजनीतिक स्थायीत्व हुने आशामा गम्भीर धक्का लागेको छ । संसद विघटन, सर्वोच्चद्धारा बदर, एकता भएको नेकपा बिभाजन, साविक एमाले र माओवादी केन्द्र पनि बिभाजन उन्मुख अवस्थामा छन् । यसले देशको राजनीति फेरि अस्थिर बन्नेमा नागरिकको चिन्ता छ । संसद विघटन सर्वोच्चले बदर गरिदिए पछि अबको राजनीतिक निकास के ? यतिबेला देश अन्यौलको भूमरीमा छ । देशको पहिलो, दोस्रो, तेस्रो दल होइन, चौथो दल जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिबेला राजनीतिको केन्द्रमा अर्थात् निर्णायक भूमिकामा छ । वर्तमान सरकार जोगाउन, नयाँ सरकार बनाउने र मुलुकलाई मध्यावधिमा लिएर जानेजस्ता विभिन्न राजनीतिक विकल्पको चाबी जसपाको हातमा छ ।
जसपाले यसपटक प्रष्ट सँग भनेको पनि छ कि संधै हामी सत्ताको भ¥याङ मात्रै बन्दैनौ, पार्टीले उठाएका जनताका एजेण्डा पुरा गरेर मात्र सत्ता समर्थन या सरकारमा जाने निक्र्यौल गर्ने घोषणा गरेको छ । भलै यो कति दृढ अडानमा रहन्छ ? त्यो हेर्न बाँकी छ । सत्ता समिकरणले जसपा आफै फुट्ने संशय पनि छ । जसपाले यसबेला देशलाई कस्तो राजनीतिक निकास दिने भन्ने बारे गम्भीर छलफल, सोच विचार गरेर सुझबुझ पूर्ण निर्णय गर्नुपर्नेछ । किनकि जसपा संसदमा शक्तिका हिसावले चौथो भए पनि अहिले निर्णायक बन्ने परिस्थिति छ । जसपाले सिमित सत्ता स्वार्थ, कुनै देशी विदेशी शक्ति र समूहको दबाब र प्रभावमा मात्र होइन, देश र जनता सम्झेर पार्टी प्रतिको विश्वास र भरोसा थप बढाउने अवसर नगुमाओस् । जतिसक्दो छिटो मुलुकको अन्यौलता अन्त्य होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *