विलासी जीवन बदलौं

सम्पादकीय
समय बदलियो, व्यवस्था बदलियो, परिवेश बदलियो । बदलियो अरु अनेकन कुराहरु । र जबरजस्त भए पनि बदलिनु पर्ने बाध्यता छ मानिसहरुलाई पनि । बदल्नुपर्ने छ आफ्ना परम्परागत जीवन पद्धति समय अनुकुल । तर, समयसँगै बदलिइ रहेका हाम्रा दैनिक आचरण, व्यवहार, जीवनशैलीहरु हाम्रै स्वास्थ्यका लागि भने खतरानक सूचक बनेर आइरहेका छन् । हामीले पछिल्ला दिनहरुमा जे जस्ता खानपान र जीवनशैलीमा जीवन व्यतित गरिरहेका छौ, त्यसले कुनै न कुनै दिन, क्षण र पलमा खतराको घण्टी बजाउने निश्चित प्रायः छ ।

हामी हाम्रा मौलिक अर्गानिक अनाज, खानपान छाडेर विदेशी खानपानमा केन्द्रित हुन थालेका छौ । स्वास्थ्यका लागि होइन, स्वादका लागि खाने परिपाटीले धेरैको जीवनमा समस्या निम्ताइरहेको छ । कुनै बेला अकालमै सरुवा रोगबाट मर्ने मानिसको संख्या उल्लेख्य रहेको भए पनि अहिले सरुवा रोगबाट भन्दा नसर्ने रोगबाट धेरै नेपालीहरुको मृत्यु धेरै हुने गरेको तथ्य र तथ्यांकले यसलाई पुष्टि गर्छ । पहिले पहिले झाडापखाला, हैजाबाट मृत्यु भएको खबर आउँथे, अहिले एक्कासी हृदयघात र अरु पहिचानै नभएका रोग र कारणबाट बढी मृत्यु भएको समाचार आउँछ । यसरी मृत्युदर या नसर्ने रोग बढ्नुमा ‘विलासी जीवनयापन’ मुख्य कारण रहेको चिकित्सक बताउँछन् । विलासी जीवनयापन, मद्यपान, धुम्रपान गर्ने तर व्यायाम, योग, ध्यान लगायतका स्वास्थ्यवद्र्धक अभ्यास र साधना नगर्ने परिपाटी व्याप्त छ ।

हुन त जीवनमा जन्म र मृत्यु अपरिहार्य पाटा हुन् । जन्म भए पछि मृत्यु अवश्यम्भावी छ । यो धुव्र सत्य कुरा हो । हामीले स्वीकार गरौं या नगरौ यो हामी सबैले बेहोनु पर्ने जीवनको अपरिहार्य अप्रिय घटना हो । तर, हामीले स्वश्थ जीवन बाँच्न पाउने प्रयाप्त अवसर हुँदा हुँदै पनि काललाई कतै अकालमै आउन निम्तो त दिइरहेका छैनौ ? हामीले दैनिक गरिरहेको खानपान तपाइको आफ्नै आयु घटाउनमा भूमिका त खेलिरहेका छैनन् ? हामीले अबलम्बन गरिरहेको दैनिकी हाम्रो अमूल्य जीवनमा घातक त सावित भइरहेका छैनन् ? निश्चय पनि विलासी जीवनशैलीले गम्भीर संकेत गरिरहेको छ । विलासी जीवनयापनले कोल्ड स्टोर, थाइराइड, मुटुको समस्या, उच्च रक्तचाप जस्ता रोगमा युवा पुस्तामा पनि वृद्धि भएको छ, जुन अहिलेको अधिक मृत्युको कारण हो । खानपान र जीवनशैली भद्धा हुँदै गए पनि स्वास्थ्यका लागि अपरिहार्य दैनिक ४५ मिनेट नियमित योग तथा शारीरिक व्यायाम हामी गर्दैनौ । यस्तो संवेदनशील विषयमा हामीलाई फुर्सद र चासो दुवै छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *