सम्पादकीय
सायदै कसैको कल्पना भन्दा बाहिर हुन्छ कि कुनै एक नागरिक निर्दोष हुँदा हुँदै ४१ वर्ष सम्म कारागारमा कैद हुन्छ । र चार दशक पछि अदालत र न्यायधीश भन्छन्, उनी निर्दोष छन्, छोडिदिनु । यो कुनै एकादेशको कथा होइन । यो अहिले सत्य घटनाका रुपमा बाहिर आएको छ । इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना भारतको जेलमा विना सुनुवाइ ४१ वर्ष बिताएर शनिबार थुनामुक्त भएका छन् । सन् १९८० मा दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा दुर्गाप्रसाद पक्राउ परेका थिए । हत्या अभियोगमा पुष्टि गर्ने कुनै बलियो प्रमाण नदेखिए पनि १९८० मा दार्जिलिङका नैन घलेले दिएको जाहेरीका आधारमै विना सुनुवाइ ४१ वर्षदेखि बन्दी बनाइरहेको थियो । गत बुधबार उच्च अदालत कोलकाताले ‘दिमागी रूपमा ठीक नभएको’ भन्दै छाड्ने आदेश दिएको थियो ।
यो यस्तो प्रतिनिधि घटना हो, जसले न्याय प्रणालीमा हुने विवेक सम्मत न्यायको अभाव या कुनै दबाबमा यति सम्म गम्भीर घटना हुन्छ भन्ने देखाएको मात्रै छैन, न्याय दिने निकायबाटै चुस्त न्यायमा चुक्दा एक निदोष नागरिकले कति सम्म शारीरिक, मानसिक यातना पाउने मात्रै पनि होइन, उसको उर्जाशील र रहर लाग्दो जीवन कसरी सकिन्छ भन्ने पनि यो घटनाले प्रष्ट पारेको छ । २० वर्षमा जेल परेका दुर्गाप्रसाद अहिले ६१ वर्षको उमेरमा खुला आकाशमा आएका छन् । जुन उमेरमा उर्जा र उत्साह लिएर आफ्नो भविष्यबारे योजना र कर्म गर्नुपथ्र्यो, उनले त्यही अवधी जीवनकै निकै कठीन समयको रुपमा व्यतित गरेका छन् । एक किसिमले भन्दा उनको तन्नेरी उमेर र भविष्य न्यायपालिकाको एक निर्णयले नै बर्बादी बनाइदिएको छ । दुर्गाप्रसाद आज रिहाईको अवस्थामा आउँदा मानसिक रूपमा मात्रै होइन, शारीरिक रूपमा समेत असाध्यै कमजोर अवस्थामा देखिएका छन् ।
न्यायका क्षेत्रमा एक भनाई चर्चित छ, बरु एक दोषि छुटोस्,तर निर्दोष व्यक्ति अन्यायमा नपरोस् । यो यस्तै घटनाहरुबाट प्रेरित भएर नै भनिएको हो । र न्यायमूर्तिहरुले यसलाई आफ्नो महत्वपूर्ण अस्त्रका रुपमा प्रयोग समेत गर्दै आएको तथ्य हाम्रो बीचमा छ । दुर्गाप्रसादको भारतीय उच्च अदालतबाट अझै फैसला हुन बाँकी नै छ । तर, यतिका वर्ष सम्म बिना सुनुवाई र फैसलामा जे जसरी राखियो ? यो गम्भीर विषय हो । दुर्गाप्रसादलाई जे अभियोग लाग्यो, यदि त्यसमा सम्लग्न हो भने सजायको भागिदार हुनै पर्दथ्यो तर होइन भने यतिका वर्ष सम्म विचाराधीन अवस्थामा एक नागरिकको उर्जाशील उमेर र भविष्य बर्बादी पार्ने कसैलाई अधिकार छैन । यसका लागि सबैले आवाज उठाएर यस्तो घटनामा क्षतिपूर्ति दिलाउन र अर्को घटना दोहोरिन नदिन पहल र भूमिका निर्वाह गर्नुपर्छ ।