कोरोना, खोप र पुनः संक्रमणको खतरा


सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)बाट मानिसहरु लामो समय संक्रमित मात्रै बनेनन्, यसबाट विश्व अर्थतन्त्र ठप्प समेत बन्यो । मानिसका गतिशील पाइलाहरु गत वर्षको चैत्र पहिलो सातादेखि एकाएक रोकिए । सुन्दर सपना र भविष्य अन्यौल, द्धिविधाग्रस्त अवस्थामा एक वर्ष बिते । स–साना लगानी गरेर सञ्चालन गरिएको व्यापार व्यवसायी डुब्ने अवस्था पैदा भयो । गरिबहरु अझ गरिब र संकटमा धनीहरु अझ धनी बन्ने अवस्था सिर्जना भयो । संकटका बेलामा मानवीय दायित्व र सामाजिक उत्तरदायित्व सहितको व्यापार व्यवसाय र भूमिका होइन, कतिपयले यही बेला कमाउ धन्दा चलाए । भलै गरिब, बिपन्नहरु भोकभोकै मरेनन् । सरकारले राहतका नाममा केही दिन पुग्ने राहत बाँड्यो तर नागरिक आफ्नै इमान, स्वाभिमानमा बाँच्ने साहस गरे । र पूर्ववत सचेततादेखि अनेकन प्रयत्नका बिच कोरोना संक्रमण र जोखिम दुर हुँदै गयो । यद्यपि, अहिले फेरि बदलिँदो गर्मी मौसम सँगै संक्रमण फैलिन थालेको छ ।

अहिले कोरोना संक्रमण दर बढ्ने खतरानक परिदृश्य मात्रै होइन, कोरोना संक्रमण बिरुद्ध खोप आएकोमा उत्साहित भएकाहरुका लागि पनि संक्रमणको खबरले उद्धेलित बनाउन थालेको छ । नेपालमै गत फागुन २३ गते कोरोना खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) विकास हुन एक महिना सम्म लाग्छ । तर उनमा इम्युनिटी विकास नै नभएकाले संक्रमण भएको हुनसक्ने अनुमान छ । मौसममा आएको बदलाव संगै ज्वरो, निमोनिया, खोकी लगायत लक्षण सहित बिरामी हुने क्रम बढ्दो छ ।

कोरोना भयावह सुरु भएको महिनौ सम्म यसको कुनै औषधी, खोप पत्ता नलाग्दा ठूलो भयावह र संशय थियो । अन्ततः बैज्ञानिक चिकित्सकहरुको अथक अनवरत प्रयत्नका बिच खोप पत्ता लाग्यो र अहिले परीक्षण सफल भएर चरणवद्ध खोप अभियान देशभर चलिरहेको छ । तर, अहिले खोप लगाएकालाई पनि कोरोना संक्रमण भएको खबरले केही आतंक सिर्जना गरेको छ । यसमा आम नागरिकले केही बुझ्नुपर्ने हुन्छ । खोप लगाउना साथ इम्युनिटी बन्दैन । कम्तीमा १ महिना लाग्छ । त्यसैले अझै सचेत होऔं । कोरोनाविरुद्ध खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्नु घातक हुन्छ भन्ने यसले देखाएको छ । खोपको उपलब्धता अहिले नै सबैलाई नभएको र हाल नेपालमा देखिएको कोरोना भाइरस नयाँ भेरियण्ट भएको आशंका रहेकाले खोपले काम गर्छ वा गर्दैन या सबैलाई पुग्छ या पुग्दैन भन्ने अन्योल कायमै छ । अतः हामी सबै सतर्क बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *