दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउ

सम्पादकीय

चेतना र जागरण शहरदेखि गाउँसम्म बढ्दो छ । यही चेतना र जागरणले पहिले–पहिले बाक्लो रुपमा हुने सामूहिक झडप (ग्याङ फाइट)का घटनाहरु नियन्त्रण प्रायः अवस्थामा छन् । बागलुङ बजारमै ६० को दशक सेरोफेरोमा दैनिकजसो बिभिन्न चोकमा झडपका घटना हुन्थ्यो । घाइते, अंगभंग, यातनाले साँझपख पैदल यात्रा गर्न पनि उत्तिकै सन्त्रासको वातावरण थियो । प्रहरी प्रशासन लाचार जस्ता देखिन्थे । गाउँमा पनि विहेवर्तनदेखि सानातिना जमघटहरुमा पनि झैझगडा र लडाँई हुन्थे । तर, समयक्रमसँगै पहिलेको त्यो खराब प्रचलन र प्रवृत्तिमा त उल्लेख्य बदलाव आएको छ । र पनि अझै एकाध अपवादका घटनाले सन्त्रन्त्र बनाउने गरेको छ ।

आइतबार बागलुङ जिल्लाको बडिगाड र निसीखोला गाउँपालिकाको सीमानाको बल्दे धुरीमा भएको विवाद पछिको झडपले निम्ताएको अप्रिय घटनाले सिंगो जिल्ला स्तब्ध बनेको छ । बडिगाड गाउँपालिका वडा नम्बर-१० दर्लिङ र निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटका युवाहरु बिच गाउँ माथिको धुरीमा होली मनाउने क्रममा भएको झडपमा कांग्रेसका जिल्ला नेता एक उर्जाशील उत्साही युवा प्रकाश कुँवर र दिपक परियारको मृत्यु भएको छ । त्यो पनि निकै बिभत्स हिसाबले भिरबाट फालिएको छ । यो कुनै पनि हिसाबले क्षम्य हुन नसक्ने अपराध कर्म हो । अहिले जे घटना भएको छ, त्यो कुनै एक पार्टीका हिसाबसँग जोडिएर नियोजित र योजनावद्ध गराएको हो या भवितव्य हो ? यो प्रहरी अनुसन्धानबाट प्रष्ट होला तर अपराधको कुनै जात,पार्टी, धर्म हुँदैन । अपराध अपराध नै हो । यसलाई त्यही रुपले बुझिनु पर्दछ ।

जे नहुनु थियो, भइसकेको छ । अपराध कर्ममा सामेल सबैलाई तत्काल कानुनी कठघरामा उभ्याइनु पर्दछ । यो जो सुके जोडिएका होस् । अपराधलाई अपराध र न्यायलाई न्यायकै आँखाले हेरिनुपर्दछ । पछिल्लो बिभत्स घटनाले फेरि एक पटक जिल्लालाई नै बदनामी गराएको छ । कतिपय सवालमा बिभिन्न व्यक्ति, समूह या पार्टी बिच स्वभाविक फरक मत हुन सक्छ । यसमा स्वस्थ छलफल, बहस, समिक्षा गर्नुपर्छ । न कि व्यक्ति या समूह बनाएर आक्रमण र ज्यानै लिने प्रवृत्ति समाज र देशका लागि घातक छ । आपसी सद्भाव साटासाट गर्ने रंगहरुको पर्व होली पूर्णिमाकै दिन भएको यो घटनाले धेरै प्रश्न पनि उठाएको छ । हाम्रा संस्कार संस्कृति कतै बिकृत उन्मुख त छैनन् ? चाडपर्वहरुलाई खुसी उल्लासमय बनाउने रहरमा मदिरामय बनाएर हामी बेहोसी त बनिरहेका छैनौ ? यो पाटो पनि सोचनीय छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *