खेल, खेलाडी र बिराजको बिदाई

सम्पादकीय
खेल केबल खेलमा मात्र सिमित छैन । यसको बहुआयामिक अर्थ र महत्व छ । यो चाहे जीवन, स्वास्थ्यसँगको सवालमा होस् या समाज र देशको पहिचानका लागि होस् या एकता, सद्भाव मार्फत् नागरिकलाई एकै मन र भावनाका साथ जोड्न होस् । चौतर्फी भूमिका खेलले खेलिरहेको हुन्छ । त्यसैले खेल क्षेत्रमा सर्वाधिक लोकप्रिय नारा पनि तय गरिएको छ कि स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद । खेलले नै बाज्रिललाई चिनाएको छ, ब्राजिल खेलले चिनिएको मात्रै छैन, बिभिन्न देशका क्लबमा खेलाडी खेल्न पठाएर ठूलो रकम देश भित्राउन पनि सफल भएको छ । यो खेलमा किन लगानी गर्ने ? भनेर नाक खुम्च्याउनेहरुका लागि महत्वपूर्ण सन्देश र पाठ हो ।

हो, नेपालमा खेलको क्रमशः विकास हुने क्रममा छ । चाहे त्यो क्रिकेट खेलमा होस् या फुटबल या भलिबल या अरु खेलमा । खेल केबल समय व्यतित गर्ने हिसाबले मात्रै सोँच्ने र लिने प्रचलनमा अहिले उल्लेख्य बदलाव आएको छ । पछिल्लो केही वर्ष यता खेलकुद क्षेत्रमा व्यावसायिक सोच र अभ्यास समेत बढ्दो छ । दर्जन बढी खेलाडीहरुले नेपालबाटै राम्रो खेल कौशल प्रदर्शन गरेर बाहिरी मुलुकमा समेत व्यावसायिक खेल खेलिरहेका छन् । यसले खेलमा पनि भविष्य छ भन्ने देखाएको छ । भविष्य मात्रै होइन, खेल र खेलाडी प्रतिको सम्मानभाव पनि उत्तिकै बढी देखिन थालेको छ । नेपालका सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनको सोमबार फुटबलबाट सन्न्यासको घोषणासँगै विदाईले पनि यसलाई प्रष्ट गर्दछ । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औँ अन्तर्राष्ट्रिय खेल करिअर खेल्दै सन्न्यासको घोषणा गरेका छन् । अन्तिमपटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।

हुन त नेपाली फुटबलमा अझै अपेक्षाकृत र उल्लेख्य उभार आउन सकेको देखिदैन । तर, डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहीन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले सोमवार मात्रै ३७ वर्षपछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचालेको छ । यो सुखद सुधार र संकेतको रुपमा लिन सकिन्छ । अब राज्यले खेलकुद क्षेत्रको महत्वलाई बोध गरेर नागरिकलाई स्वस्थ बनाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि नेपाललाई अब्बल र प्रतिस्पर्धी बनाउन लाग्नुपर्छ । खेल क्षेत्रमा पनि विकृत राजनीति र अस्वस्थ प्रतिस्पर्धाले गाँजेको अनूभुति हुने गर्दछ । यो पनि अन्त्य हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *