बल्देधुरी घटना नदोहोरियोस्

सम्पादकीय
बागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बल्दे धुरी दुई गाउँको संगम स्थल मात्र रहेन । अनि सुन्दर दृश्यावलोकनको उपर्युक्त स्थल मात्र पनि रहेन । यो धुरी अब एक रणभूमि बनेको अपत्यारिलो घटना भएको कहाली लाग्दो दिन र स्थलको रुपमा समेत परिचित हुनेछ । बल्देधुरी आम मानिसलाई झस्काउने एक बिम्ब समेत बन्नेछ । किनभने यो ठाउँमा होली खेल्ने क्रममा दुई गाउँका युवा बिच झडप हुँदा अप्रिय घटना भयो । जसका कारण दुई युवकको ज्यान गयो । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भयो । झडपमा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलदेखि ४ सय मिटर तल मृतकको शव भेटिएको थियो ।

चाहे त्यो मनोरञ्जन गर्ने नाममा होस् या आग्रह, पूर्वाग्रह, प्रतिशोधका कारण होस् या मदिराका कारण होस् । जे सुकै कारणले भएको घटना होस् । यो गम्भीर अपराध हो । अपराधको सजायको भागिदार सम्बन्धित व्यक्तिहरु हुनै पर्दछ । यसमा प्रहरीले निरन्तर अनुसन्धान जारी राखेको छ । यति गम्भीर अपराधमा पनि तीन दिन सम्म कसैलाई पनि पक्राउ नगरेकोमा चौतर्फी संशय र रोष मात्र थिएन, आक्रोश पनि थियो । अहिलेको घटनाको निशाना कांग्रेसका जिल्ला सदस्य समेत भएकाले पार्टीले समेत यसलाई संवेदनशील घटनाका रुपमा लिएको छ । र घटनाको तेस्रो दिनमा प्रहरीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार ६ जनालाई पक्राउ गरेको छ । तत्काल प्रक्राउ गर्न नसकेको आरोप र आलोचना खेपिरहेको प्रहरीले गुल्मीबाट २ जना र ४ जना बागलुङबाट पक्राउ गरेको हो ।

यो घटना कदापि सामान्य घटना होइन । दुई जनाको सामूहिक झडप पश्चात हत्या भएको छ । त्यो पनि भीरबाट फालेर बिभत्स तबरबाट हत्या गरिएको छ । घटनाको जिल्ला प्रहरी प्रमुख नेतृत्वको ११ सदस्य र पोखराबाट सीआईबीको टोली समेत अनुसन्धानमा खटिएको छ । यो अनुसन्धान कुनै दबाब र प्रभावमा नपरी प्रहरीले अघि बढाउनु पर्दछ । सामूहिक झगडा भएकाले दोषि पत्ता लगाउन केही कठीन पनि भएको छ । दोषि नउम्कोस्, निर्दोष नफसोस् भन्नेमा अनुसन्धान केन्द्रित गरिनु पर्दछ । र मेला, पर्व या खुसी मनाउने क्रममा हुने सम्भावित घटना र जोखिमबारे पनि सबै सचेत हुन आवश्यक छ । यो घटनाबाट पाठ सिकौं कि बल्दे धुरी घटना फेरि कदापी नदोहोरियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *