महामारीको पछिको फरक समस्या

सम्पादकीय
कोरोना महामारीपछि अनेक क्षेत्रमा समस्या र संकट देखिरहेको छ । कोरोनाको असर र प्रभाव अझै कायमै छ । भयावहको एक वर्ष पुरा हुँदै गर्दा नियन्त्रण उन्मुख ठानिएको कोरोना संक्रमणको दर र जोखिम फेरी बढ्दो क्रममा छ । चाहे युरोपियन देशमा होस् या छिमेकी देश भारतहरुमा होस् या नेपाल भित्रै पनि संक्रमण दर बढेको छ । धौलागिरीमै पनि परीक्षण दर कम भइरहेको अवस्थामा एकै दिन १०÷१२ जनामा कोरोना देखिन थालेको छ । म्याग्दीमा बुधवार मात्रै एकै दिन १२ जनामा कोरोना पुष्टि भएको छ । यसले एकातिर मानिसहरुलाई कमजोर भयग्रस्त बनाइरहेको छ भने कोरोनाकै कारण अनेक समस्या सिर्जित छ । जसले गर्दा महिला, किशोरी तथा बालबालिका बेचबिखन र हिंसाजन्य समस्या अधिक बढेको छ ।

कोभिडले सबै क्षेत्र अस्तव्यस्त बन्दा त्यसको सबै भन्दा प्रत्यक्ष मार श्रम गरिखाने वर्गको दैनिकीमा परेको छ । दैनिक आयस्रोत बन्द हुँदा पारिवारिक कलह, यौन हिंसा, घरेलु हिंसाजस्ता अपराधको संख्या बढ्दै गएको बिभिन्न संघ–संस्थाको अध्ययनले देखाएको छ । यस्ता अपराधको परिणाम यौनजन्य हिंसा र मानव बेचबिखनमा पनि देखिरहेको छ । यस्तो कठीन परिस्थितिमा रोजगार, आर्थिक प्रलोभनमा पार्न अनेक जालसाजी हुन्छ । मानव तस्कर र दलालहरु सक्रिय बन्छन् । महिला उद्धार तथा सहयोगका क्षेत्रमा कार्यरत संघ–संस्थाका अनुसार, महिला र किशोरीहरुलाई रोजगारीको प्रलोभनमा नेपालकै विभिन्न स्थान तथा भारत र श्रीलंकासम्म पु¥याएर बेचबिखन गर्ने क्रम बढेको छ । लकडाउन भएपछिको तीन महिनामा शक्ति समूहले मात्र २१ जनाको उद्धार गरेको थियो । मनोरन्जन तथा सत्कार क्षेत्रमा कार्यरत महिलाहरुको हितमा काम गरिरहेको विश्वास नेपालले लकडाउनपछि ८ आन्तरिक र ५ बाह्य गरी बेचबिखनमा परेका १३ जनाको उद्धार गरेको छ । प्रहरीको तथ्यांकमा बेचिनेको संख्या न्यून देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३३ वटा मात्रै मानव बेचविखन सम्बन्ध अपराधको मुद्दा दर्ता भएको छ ।

कोरोना मानव सभ्यताकै सबै भन्दा जटिल संकटको रुपमा आयो । यसले चौतर्फी असर र जोखिम फैलाएको छ । जसमा महिला तथा बालबालिका बेचबिखन पनि जोडिएर आएको छ । कोरोना पछि यस्तो समस्या अझ बढेर गएको छ । यसबेलामा अनेकन आश्वासन देखाएर ठग्ने र हिसां गर्ने पात्र र प्रवृत्ति बढ्न सक्छन् । तीन तहको सरकारले यस विषयमा संवेदनशीलता देखाउन सक्नुपर्छ । प्रहरी प्रशासनले जोखिममा रहेका वर्गको विशेष ख्याल र निगरानी गर्नुपर्दछ । कोरोनाले जिविका त खोसिरहेको छ नै, त्यसमा थप इज्जत, स्वाभिमान समेत खोसिने दुर्दशा कुनै पनि नागरिकले भोग्नु हुँदैन । यसमा सरकार र सरोकारवाला सबै संवेदनशील बन्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *