विद्यालय बन्द कि यथेष्ट सचेतता ?

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढ्दो छ । जसले वर्षदिन देखि झेल्दै आएको कोरोनाको सकस कम हुँदै जाने आशा अपेक्षाका बीच भय र खतरा बढेको छ । मानव सभ्यताकै इतिहासमा कठीन संकटका रुपमा आएको कोरोना महामारीले हजारौको ज्यान लियो । लाखौं संक्रमित बन्न पुगे । दैनिकी जीवन र भविष्य लामो समय अन्यौलताको भूमरीमा फस्यो । यद्यपि, यो क्रमशः नियन्त्रण उन्मुख हुने अपेक्षा गरिएको थियो । अहिले यसको ठीक विपरित दैनिक कोरोना संक्रमण दर बढिरहेको छ । दैनिकी भयग्रस्त बन्न थालेको छ । वर्ष दिनमा कोरोनाले थलिएर विस्तारै तंग्रिदै गरेका व्यापार व्यवसाय फेरि पुरानै नियति भोग्नुपर्ने अवस्थामा पुग्ने त होइन ? सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ ।

अहिले गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । त्यसमध्ये अधिकांश संक्रमित कास्कीका छन् । पछिल्लो समय पुष्टि भइरहेका कोरोना संक्रमित विद्यालय स्तरका बालबालिका छन् । यसमा बागलुङ जिल्लाका बिद्यालय कलेजमा अध्ययनरत विद्यार्थीहरु पनि कोरोना संक्रमणको शिकार बनेका छन् । जिल्लामा लक्षण देखिए पछि चेकजाँज गराएर कोरोना पुष्टि हुने क्रम पनि दैनिक बढ्दो क्रममा छ । जसका कारण नेपाल सरकारले बागलुङ सहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लाको सूचिमा राखेको छ । अहिले अब विद्यालय खोल्ने कि नखोल्ने या प्रयाप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्ने भन्नेमा बिरोधाभास र अन्यौलता सर्वत्र देखिएको छ । एकातर्फ स्कुलका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भेटिए पछि विद्यालय बन्द गरेर भौतिक रुपमा उपस्थिति सहितको पढाइ बन्द गर्ने र अनलाइन कक्षा सुचारु गर्नुपर्ने आवाज छ भने अर्को तर्फ विद्यालय भिडभाड हुने अति संवेदनशील क्षेत्र भएकाले कोरोनासँग खेलाची गर्न नहुने तर्क छ ।

कोरोना संक्रमणको दुरगामी असर देखिएको छ । यसलाई सामान्य ठान्दा पनि ज्यान समेत गएका घटना प्रशस्त छन् भने गम्भीर नठान्दा सिंगो परिवार र समुदायमा फैलिएका घटना पनि छन् । यसो भन्दैमा अब लकडाउन या विद्यालय बन्द नै सबै समस्याको समाधान होइन । यसमा स्वास्थ्य क्षेत्रका विज्ञहरु सँग सरकारले समयमै परामर्श गरेर विद्यालय बन्द गर्नै पर्ने बाध्यात्मक अवस्था परिस्थिति सिर्जना भइसकेको छ कि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरेर पनि शैक्षिक गतिविधिलाई नियमितता दिन सकिन्छ । यसमा सरकार र सरोकारवाला गम्भीर बन्नुपर्छ । स्थानीय सरकारलाई विशेष अधिकार दिइएकाले पालिकाहरु पनि जिम्मेवार बन्न जरुरी छ । नत्र कोरोना संक्रमण फैलिएर महामारीको रुप लिने अवस्था भोलीका दिनमा निकै महंगो सावित हुन पनि सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *