लोकमार्गको काम सक्न समयमै अझै खबरदारी

सम्पादकीय
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग आयोजना । यसको बागलुङ खण्डको कामको विषयले वर्षौदेखि चर्चा र आलोचना बेहोरिरहेको छ । लोकमार्गको ग्रामिण क्षेत्रको अधिकांश खण्डमा कालोपत्रे भइसकेको लामो समय बित्दा पनि जिल्ला सदरमुकाम आसपासकै खण्ड वर्षौदेखी अलपत्र छ । निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी गैरजिम्मेवार बनिरह्यो । अझ कठोर भाषामा भन्दा ठेकेदार गुमनाम जस्ता भए । आधिकारिक निर्माण जिम्मा पाएका कम्पनीबाट दोस्रो, तेस्रो, चौथो पेटी ठेकेदार आउने र अपेक्षाकृत काम, परिणाम नदेखिने अवस्था बिद्यमान भयो । नागरिक स्तरबाट तिव्र दबाब भए पछि जिल्ला प्रशासन कार्यालयको पहल र समन्वयमा निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिलाई बोलाएर निर्धारित सममयै काम सक्न निर्देशन मात्र गरिएन, यदि समयमै काम नभए कालो सूचिमा राख्ने चेतावनी समेत दिइयो । र जेष्ठ भित्रै कालोपत्रेको काम अघि बढाउने गरि काम अघि बढाइएको छ ।

बागलुङ बजार देखि–घोडाबाँधे सम्मको सडक खण्डका बारेमा सांसद, जनप्रतिनिधिले सम्बन्धित थलोमा ध्यानाकर्षण नगराएका होइनन् । मन्त्री, सरकारी निकायका उच्च पदस्थ कर्मचारी पनि अलपत्र सडकमा सकस लाग्दो यात्रा नगरेका होइनन् । तर, यसले मुर्त रुप लिन सकेको छैन । र हिउँदमा धुलाम्य र बर्खामासमा हिलाम्य सडकमा यात्रा गर्नुपर्ने नियति लामो समय देखि नागरिकले भोगिरहेका छन् । पछिल्लो समय केही आशावादी बन्ने अवस्था र संकेत देखिएको छ । लोकमार्गको ट्रयाक खुलेको २४ वर्षमा लोकमार्गको बागलुङ घोडाबाधे खण्डको २५ किमी सडकको काम अघि बढ्न नसकेकोमा नागरिकको चर्को आक्रोश छ । अहिले वेश विछ्याउने, ग्रेडिङ गर्ने काम भइरहेको छ । यद्यपि अझै ढुक्क हुने अवस्था भने छैन । विगतमा पनि ठेकेदार कम्पनीका प्रतिनिधि भनेर बनेर आउने, केही समय काम गरे जस्तो गर्ने र उपलब्धि नहुने, बिचमै अलपत्र काम छाड्ने प्रवृत्ति व्याप्त छ ।

गौरवको आयोजना हुँदाहुँदै पनि वर्षौदेखि अलपत्र पार्ने कार्यले देशको विकास व्यथिति कुन हद सम्म छ भन्ने प्रष्टै हुन्छ । अहिले आयोजना कार्यालयले अन्तिम पटक असार सम्म म्याद थप गरेको छ । । यो अवधिमा काम हुनेमा अझै पनि आंशका देखिन्छ । अब बर्खा लाग्ने र अनेक बाहना गरेर आयोजना अझै अलपत्रको भूमरीमा पर्ने खतरा कायमै छ । अतः जिल्लाका सांसद, जनप्रतिनिधि, स्थानीय प्रशासन, सरोकारवाला मिलेर यसमा समयमै काम सक्न रखबारी गर्नुपर्छ । भएको कामको गुणस्तरमा पनि उत्तिकै ख्याल गर्न जरुरी छ । नत्र फेरि लोकमार्गले पुरानै नियति भोग्नुपर्ने अवस्था आउन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *