भूकम्पको ६ वर्षः बिर्सिसक्यौ पाठ ?

सम्पादकीय
२०७२ वैशाख १२ गते आएको महाभूकम्पले नेपाली जनजीवन एकाएक तहस नहस बनायो । करीब ९ हजारको ज्यान गयो । ७ लाख ७३ हजार घरमा क्षति पुग्यो । के धनी के गरीब, के सम्पन्न के विपन्न ? के धर्म, के जाति, के वर्ग, के लिंग ? सबै एकाएक एकसाथ घर, गगनचुम्बी महलबाट सडकमा आइपुगे । भूकम्पले आम मानिसलाई आफ्नो हैसियत सोच्न महुशुस गर्न बाध्य बनाइदियो । किनभने हामी तेरो मेरो गरेर अनेक स्वार्थ सम्बन्धमा बाँचिरहेकाहरुलाई भौतिक विलासिता र सुख सयल क्षणिक या गौण हुँदोरहेछ, सबै भन्दा ठुलो त ज्यान नै हुँदोरहेछ भन्ने कुरा गहिरो बोध भयो । आम नेपालीलाई आततायी बनाउने गरि महाभूकम्प आएको आइतबार ठीक ६ वर्ष पुरा भएको छ ।

महाभूकम्पपछिको गतिलो पाठ थियो– भूकम्पले मान्छे मार्दैन, मान्छेले बनाएको संरचनाले ज्यान लिन्छ । अकल्पनीय क्षति बेहोर्नुपर्छ । नेपालको सन्दर्भमा वैशाख १२ मा त्यही भयो । महीनौंसम्म भूकम्पको पराकम्पन आइरहँदा नेपाली झस्किरहे । हाम्रो कमजोर अस्तव्यस्त अव्यवस्थित संरचना निर्माणका कारण ठूलो जनधनको क्षति बेहोर्नुप¥यो । यो विनाशकारी भूकम्प पछि अब धेरै चिज बदलिनेछ, हामीले घर लगायतका संरचना निर्माण गर्दा पनि बलियो बनाउन ध्यान केन्द्रित गर्नेछौ । हामी बदलिने छौ, हाम्रा परम्परागत सोँचहरु बदल्ने छौ । तर, बिडम्बना समय क्रमसँगै विस्तारै महाभूकम्पको पाठ आम मानिसले बिर्संदै गएको आभाष हुन्छ । । किनकि अझै जोखिम क्षेत्र पहिचान गर्नमा तत्परता देखिएको छैन । संरचना निर्माणका क्रममा माटो परीक्षण, क्षमता जाँचको अभाव, जथाभावी निर्माण, तालिम प्राप्त सिकर्मी डकर्मीको अभाव, जोखिमपूर्ण भवन यथावत, साना साँघुरा जग्गामा घर बन्ने क्रमको निरन्तरता, प्रति कार्यको तयारीमा समस्या व्याप्त छ ।

यद्यपि, यही निराशा र अभावका बिच पनि समाजमा स्ट्रक्चरल डिजाइन बनाउने कुरा, घर भवन बनाउँदा ठूला पिल्लर प्रयोग, कसिलो निर्माण,खाली ठाउँलाई महत्व दिने लगायतका विषयमा केही कडाई र सुधार अवश्य आएको छ । महाभूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणका क्रममा पनि केही सिकाई र सुधार भएको छ । विगतको तुलनामा अहिले बलिया संरचना निर्माणमा जिल्ला र गाउँ तहमा पनि केही प्रयत्न हुन थालेका छन् । तर, अझै पनि सरकारी निकायको लचिलो नीति छ । सत्ता शक्तिको पहुँच, घुस दिएर वा लिएर स्वीकृति लिने÷दिने, पास गरिदिने परिपाटी पनि विकृतिको रुपमा देखिन्छ । अतः सरकार निकायले पनि नीति, नियमको प्रभावकारी कार्यान्वयन गर्न गराउन भूमिका खेल्न आवश्यक छ भने भोली आफ्नै लागि काल बन्न सक्ने संरचना निर्माणलाई आजै हर नागरिकले पनि निरुत्साहित गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *