महामारीमा सत्तारसमा उद्दत राजनीतिक दल

सम्पादकीय
यतिबेला कोरोना महामारीले देश ग्रसित छ । एक वर्ष अघि मानव सभ्यताकै कठीन संकटको रुपमा भित्रिएको कोरोनाले अझै सताइरहेको छ । यसले एकवर्षको अन्तरालमा विश्व अर्थतन्त्र धराशायी बनाएको छ । चाहे साना लगानीमा होस् या ठुला लगानीमा गरिएका व्यापार व्यवसाय होस् । चौतर्फी समस्या र संकटमा गुज्रिएका छन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमण विस्तारै नियन्त्रण उन्मुख भएको आशाका बिच सकसपूर्ण दैनिकीबाट नागरिक नियमित लयवद्ध दैनिकीमा हिँड्न प्रयासरत थिए । तर, पछिल्लो केही सातादेखि फैलिएको कोरोना महामारीले जीवन, दैनिकी फेरि अनिश्चितता तर्फ गएको छ ।

यस्तो बेलामा राज्य सरकार हुनुको अपनत्व र अभिभावकत्व आम नागरिकलाई गराउन जरुरी थियो । तर, सरकार र यो देशका मुख्य राजनीतिक दल सत्ता दाउपेचको खेलमा सक्रिय छन् । कोरोना महामारी रोक्ने मुख्य जिम्मेवारीबाट सरकार संसद विघटनदेखि अरु राजनीतिक दाउपेचमा सक्रिय हुँदा अहिले संघीय सरकारदेखि प्रदेश सरकार सम्ममा अविश्वास प्रस्तावको अनुक्रम चलिरहेको छ । वर्तमान नेकपा एमालेको सरकार ढाल्ने र कांग्रेस माओवादी केन्द्रको गठबन्धनमा नयाँ सरकार बन्ने बनाउने अभ्यासले कोरोना रोकथाम, उपचार र नियन्त्रणको अहिलेको मुख्य कार्यभार गौण बनेको देखिन्छ । तर जनताको प्रतिनिधिहरुको थलो गण्डकी प्रदेश सभामै वर्तमान सरकार जोगाउने र ढलाउने रस्साकस्सी बिच नयाँ सरकार बनाउने कसरत चलिरहेको छ । सरकार के गरिरहेको छ ? आफ्ना नागरिकलाई भन्ने र थप सचेतता र विकल्पलाई आत्मसाथ गर्ने सरकारलाई सत्ता जोगाउने पिरलो छ । कोरोना कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ ? यसमा सरकारको भूमिका के कस्तो छ ? कमजोर देखिन्छ भने खबरदारी गर्ने विपक्षी दल पनि सत्ता मोहमै अल्झिएको छ । र पासा पल्टाउने कोसिसमा छ ।

देशका लागि जनताका समस्या, वर्तमान विश्वव्यापी संकट जरुर प्राथमिकतामा हुनुपथ्र्यो । सरकार र विपक्षी राजनीतिक दलको गतिविधि र भूमिका हेर्दा पुरानै संसदीय व्यवस्था सत्ता मोह र अस्वश्थ खेलको निरन्तरतामा रमाइरहेका छन् । तर, जनता अहिले कोरोनाबाट संक्रमित भएर उपचार भेन्टिलेटर नपाएर छटपटाइरहेका छन् । थप संक्रमण फैलिने सन्त्रास र संशयले नागरिक हैरानीमा छन् । कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्ने, संकटका बेला संघीयता अभ्यासको अनुभूति दिलाउने र संघीय संरचनालाई बलियो बनाउने सरकार र राजनीतिक दल सरकार गिराउने र जोगाउनेमा केन्द्रित हुनु दुर्भाग्य हो । नेपालको राजनीतिक दलहरुबाट पुराना व्यवस्था बदल्ने ऐतिहासिक कदम पश्चात अवस्था बदल्ने, विगतका खराब पात्र र प्रवृत्ति बदल्ने अपेक्षा नागरिकमा थियो । तर, यो पाटोमा पुरानै गलत प्रवृत्तिको पुनरावृत्ति हुनु दुखद पक्ष हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *