अब सेल्फ क्वारेन्टिन, सेल्फ आइसोलेसन

सम्पादकीय
अपत्यारिलो हिसावले कोरोना भाइरस (कोभिड १९) बढ्दो छ । अघिल्लो वर्षको चैत्र दोस्रो साताको सेरोफेरोमा नयाँ भाइरसले भयावहको रुप लियो । यो मानव जीवनकै कठीन संकटको रुपमा चिनको बुहान हुँदै नेपाल प्रवेश ग¥यो । आम नागरिकलाई त्राहिमाम बनाउँदै प्रवेश मात्र गरेन, क्रमशः कोरोना संक्रमणको शिकार बनायो । नेपालको पाँचौ र छैठौं संक्रमित सम्म आइपुग्दा बागलुङ जिल्ला समेत प्रत्यक्ष प्रभावित जिल्लामा दर्ज भयो । त्यसपछि सयौंको संख्यामा कोरोना संक्रमित बने । जनजीवन निकै कष्टप्रद भयो । व्यापार व्यवसाय ठप्प प्रायः बन्यो । देशभर लकडाउन भयो । जिल्लाका गाउँ गाउँमा समेत कोरोना संक्रमणको भयावह अवस्था बने पछि क्वारेन्टिन, आइसोलेसन बनाएर उपचार गरियो । यो करीब एक वर्ष पुग्न लाग्दा विस्तारै नियन्त्रण उन्मुख भएको संकेत देखिएको थियो । तर, अहिले फेरि विश्वव्यापी रुपमा कोरोना संक्रमण दर मात्रै होइन, मृत्युदर पनि उच्च देखिन थालेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु हुँदा पनि बागलुङ सुरुवाती अवस्थामै तिव्रतर संक्रमण बृद्धि हुने जिल्लामा प¥यो । जसका कारण नेपाल सरकारले देशभरमै १४ जिल्लामा कोरोना संक्रमणको अति प्रभावित जिल्लाको सूचिमा राख्यो । अहिले ८४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तर, कोरोना संक्रमण दर जिल्लामा क्रमशः बढ्दो ग्राफमा छ । अहिले स्वाब पिसिआर परीक्षण सिमित मात्रामा गर्दा पनि संक्रमित संख्या बढिरहेको छ । यस इतर लक्षण भए पनि, कोरोना संक्रमण भए पनि नदेखिने संख्या पनि छ । जसबाट परिवार र समुदायमा थप संक्रमण फैलिने खतरा पनि बिद्यमान छ । अहिले संघीय सरकारले महामारीको सम्भावित जोखिमलाई ध्यानमा राखेर देशभरको शैक्षिक संस्था बन्द गरेको छ । परीक्षाहरु पनि स्थगित गरेको छ । भिडभाड हुने कार्यक्रम, भेला नहुन नगर्न पनि निर्देश गरेको छ ।

कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि स्थानीय सरकारले अघिल्लो वर्ष उल्लेख्य प्रयत्न गरेको थियो । अहिले त्यो स्तरको तयारी र काम कतै पनि भएको देखिदैन । यसले कोरोनाको महामारीको खतरा बढाएको छ । पहिलेको जस्तो विदेशबाट या शहरबाट आएकाको निगरानी पनि छैन, क्वारेन्टिन र आइसोलेसन पनि छैन । भलै जिल्ला कोभिड संकट नियन्त्रण तथा व्यवस्थापन समितिले अब पहिलेको जस्तो क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन नहुने बताइरहेको छ ।

कोरोना महामारीलाई बेवास्ता गर्दै केन्द्र र प्रदेश सरकार, विपक्षी राजनीतिक दलहरु सत्ता जोगाउने र गिराउने रस्साकस्सीमा व्यस्त छन् । स्थानीय सरकारले अब पहिलेको जस्तो क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन र खर्च थेग्न नसक्ने बताएको छ । अतः अबको विकल्प भनेको हर नागरिक स्वयंम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना, बाहिरबाट आएकाहरु सेल्फ क्वारेन्टिन र संक्रमित भएकाहरु सेल्फ होम आइसोलेसनमा बस्ने नै हो । अन्यथा यसले तपाई हामीले ठूलै सकस र क्षति बेहोर्नु पर्ने हुन सक्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *