सरकार,जनताको स्वास्थ्यमा संवेदनशील बनोस्

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)ले विश्व आक्रान्त छ । विस्तारै नियन्त्रण उन्मुख ठानिएको कोरोना पछिल्लो केही साता यता तिव्रतर रुपमा संक्रमण दर बढ्दै गए पछि फेरि आम मानिसमा आतंक र भयको अवस्था पैदा भएको छ । नेपालमै पनि दैनिक संयौको संख्यामा संक्रमित बन्न थालेका छन् भने कोभिडकै कारण मृत्यु हुने संख्या पनि बढ्दो क्रममा देखिन थालेको छ । सरकारले बढ्दो कोरोना जोखिम र सम्भावित महामारीलाई ध्यानमा राख्दै मुख्य राजधानी काठमाण्डौंमा लकडाउन गरेको छ भने अन्य शहर र जिल्लाहरुमा पनि लकडाउन गर्ने क्रम बढेको छ । यसका बाबजुद पनि भित्रभित्रै कोरोना देशव्यापी रुपमा भयावहका रुपमा देखिएको छ । जसका कारण पछिल्लो समय अस्पतालहरुमा उपचारका लागि बेड समेत पाउन मुश्किल भइरहेको समाचार आइरहेका छन् ।

यस्तो कठीन र जटिल अवस्थामा सरकारले यथेष्ट सचेतता र स्वास्थ्य सुरक्षाका लागि पहल कदमी चाल्नुपर्ने हो । तर, केन्द्र सरकारदेखि प्रदेश सरकार सम्म सत्ता जोगाउने र गिराउनेमा केन्द्रित हुन थालेका छन् । कोरोना महामारी सुरु भएको एक वर्ष बढी भएको छ । जनस्वास्थ्यविज्ञहरूले धेरै पहिले देखि देशमा कोरोना महामारीले भयावहको रुप लिन सक्ने प्रति सचेत गराउँदै समेत आएका थिए । तर, सरकारले यसलाई गम्भीरतापूवक लिएन अर्थात बेवास्ता गरिरह्यो । बरु, यही अन्तरालमा सरकार, सत्तारुढ दल, अरु राजनीतिक दलहरुले पनि विभिन्न आन्दोलन, प्रदर्शन, भेला गरिरहे । स्वास्थ्य सुरक्षा मापदण्डको पालना र सचेततामा नागरिकहरुले पनि ख्याल गर्न छोडे । कोरोनालाई सामान्य रोगको रुपमा लिन थालेर गम्भीर गल्ती दोहोर्याउने काम भयो । जसका कारण अहिले कोरोना संक्रमण उल्लेख्य संख्यामा बढेको छ । अहिले कोभिडको उपचार हुने अस्पतालकहरु भरिभराउन भएका छन् । कोरोना संक्रमित भएकाहरुले अस्पतालमा आइसियू बेड पाउन सकिरहेका छैनन् । अक्सिजनको अभाव चरम बन्दो छ । तिव्र संक्रमण दर र भयावहले उपचारमा समर्पित चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि आजित र हतोत्साही हुन थालेका छन् ।

अहिले जे अवस्था, समस्या र संकट सिर्जना भएको छ । यो मानव सभ्यताकै कठीन संकटको रुपमा आए पनि हाम्रै बेवास्ता र लापरवाहीले भयावहको अवस्था आएको हो । यो अवस्था आउनुमा सरकार सबैभन्दा बढी जिम्मेवार छ । कोरोना कहरको मारमा सबै भन्दा बढी विपन्न, गरिब, मजदुर र मध्यम वर्गीय नागरिक परिरहेका छन् । नेपालमा कोरोना महामारीको पहिलो चरण सुरु भएको करिब एक वर्षभन्दा बढी समय हुँदा सरकारले पर्याप्त रोकथाम, उपचार र नियन्त्रणको उचित प्रबन्ध मिलाउन सकेको भए सरकार स्वयम् हाइहाई हुने अवस्था आउन सक्थ्यो । महामारीको समयमा जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको गैरजिम्मेवारपनले अहिले जे अवस्था आएको छ, यो बिडम्बनापूर्ण छ । अब बाँकी सचेतता, सुरक्षा र थप पहलकदमीका लागि पनि सरकारले ढिलाई र बेवास्ता कदापी गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *