सम्पादकीय
संसारभरका मजदुर नाराहरुमा या एजेण्डाहरुमा मुख्य प्राथमिकतामा देखिन्छन् । अझ कम्युनिष्ट पार्टीहरुको त कार्यालयको भित्तादेखि कार्यक्रमको मुख्य ब्यानरको सिरानमै सोलोगन नै हुन्छ–‘संसारका सम्पूर्ण मजदुरहरु एक हौ ।’ तर, यही कम्युनिष्ट पार्टी नामधारीको शासन सत्ता भइरहेको नेपालमा होस् या अरु देशमा । या कांग्रेस वा गैर कम्युनिष्ट पार्टीको नाममा भइरहेको शासन सत्ता होस् । भाषणमा, नारामा, सिद्धान्तमा, दस्ताबेजहरुमा पहिलो प्राथमिकतामा श्रमिक मजदुरहरु नै रहेको अलापिन्छ तर व्यवहारतः विपन्न मजदुरले अझै पनि व्यवस्था परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न नपाइरहेको तितो सत्य हो । यो अहिलेको विश्वव्यापी कोरोना संकटमा पनि देखिएको छ । देशमा कोरोना महामारीले आक्रान्त हुने अवस्थामा मजदुरहरुको बिचल्ली छ । उनीहरु देशमा जारी गरिएको लकडाउन (बन्दाबन्दी) निषेधाज्ञाको गम्भीर मारमा छन् । तर, यो पीडा र सकस बुझिदिने सरकार कोरोनाको यो संकटमा विपन्न मजदुरहरुको विवशताबारे बेखबर प्रायः छ ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्व समुदायका सबै क्षेत्र प्रभावित छन् । तर, प्रभावित भएको वर्ग, क्षेत्र, समुदाय भित्र गहिरिएर सोधखोज गर्ने हो भने सबै भन्दा बढी प्रभावित विपन्न मजदुर नै छन् । मानव जीवनकै कठीन संकटको रुपमा कोरोना महामारी फैलिरहे पनि उनीहरु रोगबाट त जोगिनु पर्ने, बच्नुपर्ने चूनौति एकातिर छ भने अर्को तर्फ रोगबाट बच्न घर, डेरामा बस्दै गर्दा या सरकारले जारी गरेको लकडाउन निषेधाज्ञाको पालना गर्दै गर्दा पनि रोगले होइन, भोकले मर्ने अवस्था बिद्यमान छ । राजधानी लगायत देशका अधिकांश सहरमा लकडाउन भए पछि अहिले दैनिक मजदुरी गरेर खानेहरुको बिचल्ली भएको छ । विपन्न मजदुरहरु रोजीरोटी रोकिए पछि लामो दुरीको सफर पैताला फुटाउदै पैदल यात्रा गर्न बिवश छन् । हुन त यही नियति गत वर्षको यही समयमा पनि विपन्न मजदुरले भोगेका थिए । त्यो बेलामा बरु प्रदेश र स्थानीय सरकारले आंशिक रुपमा भए पनि केही राहत प्याकेज तयार गरेको थियो । अहिले त्यो पनि देखिदैन ।
अहिलेको यो समय सबै भन्दा पहिले कोरोनाबाट बच्नु पर्ने समय त हो । यसमा जो कसैलाई पनि सन्देह छैन । तर, मानव जीवनकै कठीन संकटको रुपमा आएको कोरोनाबाट बचे,जोगिए पनि विपन्न मजदुरहरुको दैनिकी जिविका चलाउनै अहिले मुश्किल अवस्था छ । आफ्नै श्रम प्रतिको विश्वास, लगाव, समर्पण र स्वाभिमानमा बाँचिरहेका उनीहरु कोरोना कहरकै बिच अविचलित कर्म गरिरहेका थिए । यद्यपि लकडाउनका कारण अहिले काम रोकेर आफू र आफ्नो परिवारका लालाबालाको पेट निचोरिरहेको दर्दनाथक दृश्य देखाउन विवश छन् । छिमेकी या अरु कुनै दातासँग हात फैलाउन बिबश छन् । यसबेला तीन तहको सरकार हुनुको अनुभूति राज्यले गराउनु पर्ने हो । तर, बिडम्बना सरकार आफै कोरोनाबाट होइन, अविश्वासको रोगबाट जोगिनु पर्ने सत्ता खेलमा समाहित छ । यो दुर्भाग्य हो ।