उपचारसँगै अनुगमनमा पनि ध्यान देउ

सम्पादकीय
कोरोना भाइरसको आतंक सर्वत्र छ । ठुला ठुला शक्तिशाली विकसित देखि विकासोन्मुख नेपाल लगायतका देशमा पनि कोरोना भयावह व्याप्त छ । देशमा दैनिक ९ हजार भन्दा बढी कोरोना संक्रमित भइरहेका छन् भने ५० जनाको बिहीबार मात्रै मृत्यु भएको छ । उसो त २९ सय बढीले एकै दिनमा कोरोना जितेका पनि छन् । गण्डकी प्रदेशमै पनि दैनिक सयौंको संख्यामा कोरोना संक्रमित भइरहेका छन् । तर, अहिले कोरोना संक्रमण र मृत्युदर बढिरहेको कुरा तथ्य हो । यसले भोलीका दिन अझै नेपाल र नेपालीका लागि अझै भयावह बन्ने संकेत गरेको छ ।

कोरोनाको यो महासंकट महाविपत्तिमा कतिपयले भने कमाउ धन्दा चलाइरहेका छन् । त्यो स्वास्थ्य क्षेत्र अस्पताल, क्लिनिकहरुमा मनपरी देखिएको छ । आइसोलेशन बसेको एकै दिनको ५० हजार बढी रकम सम्म लिएको जनगुनासो व्याप्त छ भने अक्सिजन, बेड पाउनै हजारौ खर्चिने र शक्ति पहुँच पु¥याउनु पर्ने अवस्था बिद्यमान छ । सामान्य सर्वसाधारण संक्रमित बिरामीले आइसोलेशनको पहुँचमा पुग्ने मात्रै होइन, अक्सिजन सहितको बेड पाउने सम्भावना क्रमशः टर्न थालेको छ । यही विपत्तिमा खाद्यान्न, यातायात, हवाइ उडानहरुमा पनि उस्तै मनपरी पैसा लिइरहेको समाचार सार्वजनिक भइरहेको छ । तर, यसको प्रभावकारी अनुगमन गर्ने सरकार र यसका निकायको भूमिका आश्चर्यजनक छ । यसबेला बजार अनुगमन गर्नेदेखि प्रचलित नियम कानुन विपरित काम गरिरहेका जो कसैलाई कानुनी दायरामा ल्याउने निकाय मुकदर्शक बन्नु दुर्भाग्य हो ।

महासंकटको कठीन घडीमा सबै संयम, सचेत, सुरक्षित र जिम्मेवार हुनुपर्ने हो । बिडम्बना नेपालमा अहिले त्यस्तो देखिदैन । सिमित स्वार्थ समूहले यही संकटमा कमाउने अभिष्ट राख्दा नागरिकले अझ बढी सकस, सास्ती खेप्नुपर्ने मात्र होइन,ठगिनुपर्ने र कतिपय अवस्थामा ज्यान नै गुमाउनु पर्ने अवस्था बनेको छ । अब पनि सरकार र सरोकारवाला निकायले यस्तो संवेदनशील विषयमा निगरानी, अनुगमन र निर्देशन प्रभावकारी हिसाबले नगर्ने हो भने त्यसले गम्भीर रुप लिनेछ । त्यसले सिंगो सरकार मात्र होइन, देश बदनाम हुनेछ । जनधनको ठूलो क्षति बेहोर्नुपर्नेछ । अतः राज्यले अहिले नागरिकको स्वास्थ्य अधिकारको सुनिश्चिततामा ध्यान दिँदै उपचारमा सहज पहुँचको व्यवस्था गर्नुपर्छ । यो सँगै महाविपत्तिमा लुट धन्दा चलाउनेहरुलाई चुस्त अनुगमन गरेर अपराध कर्म अनुसार कारबाही गर्न सक्नुपर्छ । जसबाट यस्ता संकट र विपत्तिमा अरु जो कसैले पनि नागरिक ठगेर कमाउ धन्दा चलाउने हिम्मत गर्न नसकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *