कोरोना, लकडाउन र अनियन्त्रित महामारी

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)ले देश आक्रान्त छ । मानव सभ्यताकै कठीन संकटका रुपमा नेपाल भित्रिएको कोरोना महामारी एक वर्ष लामो अवधि भइसक्दा पनि उस्तै भयावह छ । विगत वर्ष भन्दा अहिले अझ भयावहका रुपमा आएको छ । अहिले दैनिक दर्जनौ मानिसको कोरोनाका कारण ज्यान गइरहेको छ भने ८ देखि १० हजार मानिसहरु संक्रमित बनिरहेका छन् । कोरोना नियन्त्रणको जिम्मेवारी लिनुपर्ने सरकार सत्ता रस्साकस्सीमा छ । सरकार जोगाउने र गिराउने होडबाजीमा सत्तारुढ र विपक्षी दलहरु व्यस्त छन् । नागरिकहरु भने कोरोना संक्रमणका कारण छटपटाउदै रहे पनि अस्पतालहरुमा बेड, अक्सिजन, उपचार नपाएर ज्यान गइरहेको अवस्था छ । देश अस्तव्यस्त जस्तो देखिएको छ ।

अहिले कोरोना महामारी नियन्त्रणको प्रयास स्वरुप देशका अधिक जिल्लामा लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञा छ । राजधानी सहित देशभरका देशभरका ७७ जिल्लामध्ये ६३ जिल्लामा अहिले बन्दाबन्दी र निषेधाज्ञा जारी छ । जसमध्ये ५० जिल्लामा त जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । १३ जिल्लाका शहरी क्षेत्र तथा कोरोना संक्रमण फैलिएका गाउँपालिकामा निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको भनाई छ । यसरी फैलिँदो कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गर्ने रणनीति अख्तियार गरेपनि निषेधाज्ञा जारी भएकै जिल्लामा समेत कोरोना संक्रमणको दर अझ बढ्दो क्रममा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांक छ । अहिले ५ सय भन्दा बढि सक्रिय संक्रमित हुने जिल्लाको संख्या २२ पुगेको छ । यस्तै २१ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित छन् । निषेधाज्ञा लागू भएको दिन वैशाख १६ गते देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ थियो । तर अहिले देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार बढि पुगेको छ ।

बागलुङ जिल्ला त दोस्रो लहरको सुरुवाती चरणमै तिव्र संक्रमण हुने जिल्लाको सूचिमा दर्ज भयो । संक्रमण बढ्दै गए पछि २ सय संक्रमित नपुग्दै लकडाउन गर्ने जिल्ला समेत बन्यो । तर, अझै पनि कोरोना संक्रमण दैनिक बढ्दो क्रममा छ । यसो हुनुमा सरकारले समयमै नगरेको पूर्ववत तयारीको अभाव र बेवास्ता त कारक थियो नै नागरिकले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा गरेको चरम लापरवाही पनि मुख्य हो । एकसाता अघि सम्म सबै क्षेत्रमा भिड थियो । अहिले पनि गाउँ गाउँ ठाउाँ ठाउँमा विहे, वत्रबन्ध लगायतका संस्कारजन्य कार्य जारी छ । विज्ञहरुका अनुसार निषेधाज्ञाको अवधि तीनसाता पुरा नहुँदासम्म संक्रमण दर कम हुन गाह्रो छ । यस हिसाबले पनि अझै सबै सचेत, सुरक्षित र जिम्मेवार बन्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *