एमाले एकताः झिनो आशा,अपरिहार्य एकता

सम्पादकीय
संसदको सबै भन्दा ठुलो राजनीतिक दल नेकपा एमालेको आन्तरिक जीवन कठीन संकटमा छ । पटक पटक विवाद मात्र होइन, बिभाजनको समेत नमिठो अनुभव सँगालेको एमाले अहिले फेरि बिभाजनको सन्निकट छ । पार्टी गतिविधि, नेताहरुको भूमिका, एक अर्कामा लगाइरहेका आरोप, छुद्र टिप्पणी सुन्दा र हेर्दा यस्तो लाग्छ कि अब एमाले भित्र अब एकता सम्भव देखिदैन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै अडान छ भने माधव नेपाल, झलनाथ खनाल पक्षको पनि आफ्नै मत र अडान कायम छ । नयाँ संघीय अभ्यास सँगै २०७४ सालको निर्वाचनमा एमालेले ऐतिहासिक जित हासिल ग¥यो । यस निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्र सँग चुनावी कार्यगत एकता ग¥यो । जित पछि चुनावी एकता मात्रै होइन, पार्टी समेत एकता भएर नेकपा बन्यो । नेपाल र आम नागरिकमा धेरै ठुलो उत्साह समेत छायो ।

नेपाली राजनीतिको दुर्भाग्य भन्नुपर्छ, एकता पछि शक्तिशाली बनेको कम्युनिष्ट पार्टी भित्र आन्तरिक विवाद चरम बन्यो । अन्ततः दुई तिहाईको सरकारले संसद विघटन ग¥यो । सर्वोच्च अदालतले एक भएको दुई पार्टी एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउं (२०७५ जेठ २) मै पु¥याइदियो । यस यता नेपाली राजनीति पुरानै संसदीय व्यवस्थाको फोहोरी खेल तर्फ उद्यत छ । संसदको पहिले दल बनेको एमाले आन्तरिक विवादले आफ्नै पार्टी नेतृत्वको सरकारले विश्वासको मत माग्दा माधव झलनान समूहले मत दिएनन् । माओवादी कुनै पनि हालतमा केपी ओली नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नेमा सक्रिय छ । जसपा पनि करिब बिभाजनको अवस्थामा पुगेको छ । एमाले विवाद विश्वासको मत सम्म आइपुग्दा फुट घोषणा निकट छ । ओली पक्षले माओवादी प्रचण्डसँग मिलेर पार्टी हित विपरित गतिविधि गरेर आत्मघाती कदम चालेको आरोप लगाइरहेको छ भने नेपाल पक्षले अदालतले फर्काइदिएको सुरुवाती अवस्थाबाटै पार्टी निर्णय र छलफल हुनुपर्ने अडान राखेको छ । यसमै अल्झन छ ।

अहिलेको जुन खराब परिस्थिति छ । यसमा दुवै पक्ष कमजोरीरहित छैनन् । अहिले दुवै पक्ष अतिवाद तर्फ उन्मुख छन् । एकले अर्को पक्षका नेतालाई कारबाहीदेखि अनेकन लाञ्छना र आरोप लगाएर हिँडिरहेको खराब बाटोको दुवै पक्षले गम्भीरतापूर्वक समिक्षा र आत्मआलोचना गरेर नसच्चिने हो भने आजको पहिलो शक्तिको रुपमा रहेको एमाले भोलीको दिनमा नरहन सक्छ ।

कोरोना महामारी बिच एमाले बिभाजन सन्निकट छ । अहिले एमाले नेता कार्यकर्ता पनि छुद्र रुपमा विभाजित छन् । यसले क्षणिक रुपमा कसैलाई लाभ र आत्मरतिमा रमाउने खुसी त मिल्ला । तर यसले सिंगो देश र कम्युनिष्ट आन्दोलनमा पुग्ने क्षति हेक्का हुनुपर्छ । भोली जनताका बिचमा कुन नैतिकता लिएर जाने र बिभाजित पार्टीबाट उम्मेदवार बन्दा दुवैको उम्मेदवारको धरौटी जफत हुने बिडम्बनापूर्ण अवस्थामा पनि आउन सक्छ । विगत माले एमाले हुँदा पनि यसका प्रशस्त परिदृश्य काफी छ । एमाले नेतृत्व सामु अब दुई विकल्प छन् । पहिलो, सच्चिने र कम्युनिष्ट आन्दोलन जोगाउने । दोस्रो, सक्किने र इतिहासमा खराब इतिहास लेखाउने । यसमा मुख्यतः शीर्ष नेताहरुनै जिम्मेवार रहनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *