फैलिँदो कोभिडः बिहे भोज भतेर तत्काल रोक

सम्पादकीय
कोरोना महामारीले देश भयग्रस्त अवस्थामा छन् । कोरोना संक्रमण र मृत्युदरले भयावह छ । देशभरमा बुधवार मात्रै एकै दिन ५ देखि १० हजार जना सम्म संक्रमित भएका छन् । दैनिक मृत्युदर पनि बढ्दो क्रममा देखिएको छ । धौलागिरीमा पनि पछिल्लो केही दिन यता संक्रमण र मृत्य बढिरहेको छ । बागलुङ, पर्वत र म्याग्दीमा मात्र होइन, हिमाल पारिको जिल्लामा समेत कोरोनाका कारण मृत्यु भएको छ । संक्रमण दर पनि बढ्न थालेको छ । अहिले यस क्षेत्रमा जे जस्ता परिदृश्य र संकेतहरु देखिएका छन्, त्यसले कोरोना संक्रमण दर अझ बढेर जाने खतरा देखिन्छ ।

कोरोना बढ्दै जाँदा यसको रोकथाम, नियन्त्रण र उपचारका लागि अहिले धौलागिरीका तीन जिल्लामा लकडाउन छ । बागलुङ, पर्वत र म्याग्दीमा लकडाउन गरिए पनि यसका बाबजुद कोरोनाको संक्रमण दर बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै बागलुङमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । यसमा अझ एकै गाउँ टोलमा ठुलो संख्यामा संक्रमित देखिएका छन् । बुधवार मात्रै बागलुङ नगरपालिकाको वडा नम्बर ६ मा २० जनाको स्वाब परीक्षणमा १७, वडा नम्बर ७ मा ३१ को स्वाब परीक्षणमा २१ र वडा नम्बर ९ तित्याङमा ३७ को स्वाब परीक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यात्मक हिसाबले ८८ मा ६९ अर्थात ७४% भन्दा बढि संक्रमण हो । पछिल्लो २४ घण्टामै म्याग्दीमा ४० जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाले ज्यान गुमाएका छन् । हिमाल पारिको जिल्ला मुस्ता मा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांकले सामान्य संकेत गर्दैन । कोरोना गाउँ गाउँमा समेत भयावह बन्दै जान थालेको देखिन्छ । लकडाउन निषेधाज्ञाका बिच कोरोना संक्रमण बढ्दै गए पनि विहे ब्रतबन्ध लगायतका भिडभाड हुने संस्कारजन्य कार्य रोकिएको छैन । जसबाट समुदायमा तिव्र गतिमा संक्रमण फैलिँदो छ । अस्पतालहरु लक्षण सहितका बिरामीले भरिभराउ भएका छन् । अब आउने संक्रमितहरुलाई अक्सिजन सहितको बेड पाउन पनि मुश्किल हुनेछ । बिज्ञ चिकित्सकहरु यो संक्रमण भयावह अझै तीन हप्ता बढ्दो क्रममा रहने बताइरहेका छन् । यस्तो अवस्थामा लकडाउनको अवधि थप सहित कडाई गर्ने, स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा जोड दिनुपर्छ । अझै पनि बेवास्ता सहित भइरहेका विहे, ब्रतबन्ध लगायत सामाजिक संस्कारजन्य कार्यमा पनि जिल्ला प्रशासन र स्थानीय सरकारले पूर्ण रुपमा रोक लगाउनुपर्दछ । अन्यथा यो भयावह र महामारीको रुपमा सर्वत्र फैलिने निश्चित प्रायः छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *