अझै खतरापूर्ण दिनबारे सरकारले सोँचोस्

सम्पादकीय
नेपाल विकासोन्मुख देशबाट विकासशील राष्ट्र बन्ने लक्ष्यमा उन्मुख थियो । आम नेपाली नागरिक लामो अस्थिरताका बिच देशमा आएको नयाँ गणतन्त्रात्मक व्यवस्था र स्थायित्वको सन्देशसँगै उत्पादनशील कार्यमा लाग्ने अनुक्रम तिव्र हुँदै थियो । परनिर्भरताबाट माथि उठ्नु पर्छ भनेर गाउँ गाउँमा पनि परम्परागत खेती प्रणालीबाट क्रमशः आधुनिकिकरण र प्रविधिकरण गर्ने अभ्यास व्याप्त बन्दै थियो । वर्षौ विदेशमा बिताएका मानिसहरु पनि अब आफ्नै देशमा दुःखजिलो गरेर जिविका र व्यावसायिक जीवन व्यतित गर्ने सोच र योजनामा थिए । बिडम्बना भन्नुपर्छ, यही आशा लाग्दो समय क्रममा गत वर्षको अन्त्यदेखि विश्वव्यापी रुपमा कोरोना महामारी सुरु भयो । यसले आम जनजीवन र सपना एकाएक तहसनहस बनाइदियो ।

कोरोना भयावह सुरु भएको एक वर्ष पुरा भए पनि यसको महामारी अनुपात अझ बढ्दो छ । संख्यात्मक रुपमा मात्र बढ्ने होइन, दोस्रो चरणको कोरोना भाइरस नयाँ भेरियन्ट सहित अझ कडा देखिदैछ । पछिल्लो समय संक्रमित भएकाहरु अधिकांशमा लक्षण छ । त्यो पनि श्वास प्रश्वासको समय अधिक भएको र अक्सिजन सहित उपचार गर्नुपर्ने बिरामी धेरै छन् । नेपालभर कोरोना संक्रमण दर मात्र होइन, मृत्युदर पनि बढ्दो छ । पछिल्लो एक महिनाको देशभरको तथ्यांक हेर्दा पनि कहाली लाग्दो अवस्था देखिन्छ । अन्तिम एक महिनामा मात्र एक लाख ५८ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमणबाट वैशाखमा मात्रै एक हजार ६ सय ११ जनाले ज्यान गुमाएका छन् । गत ३१ चैतमा संक्रमितको कुल संख्या दुई लाख ८० हजार नौ सय ८४ थियो । ३१ वैशाखमा पुग्दा त्यो संख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

अहिले दैनिक १० हजार भन्दा बढी संक्रमित भइरहेका छन् भने दुई सय भन्दा धेरै संक्रमितले ज्यान गुमाइरहेका छन्  । अस्पतालमा अक्सिजन अभाव र आइसियू बेड ‘प्याक’ हुँदा पनि गम्भीर संक्रमितले उपचार पाउन सकेका छैनन् । धौलागिरीको कुरा गर्दा पनि यहाँ अस्पताल भरिभराउ छन् । अन्य कोभिड अस्पतालहरु सामान्य लक्षण देखिएका बिरामी मात्रै उपचार गर्ने अवस्थामा छन् । अहिले ग्रामीण क्षेत्रमा सरकारको निर्देशन विपरित मनपरी रुपमा गरिएका बिबाह लगायतका सामाजिक संस्कारजन्य कार्यले कोरोना संक्रमण फैलिएको छ । अहिले सरकारले यसको नियन्त्रणका लागि लकडाउन त गरेको छ । यतिले मात्र पुग्दैन । फेरि लकडाउन मात्र कहिले सम्म गरिरहने ? त्यसैले तीन तहकै सरकारले भोलीका दिनमा अझ भयावह हुन सक्ने देखिएको कोरोना संक्रमण रोक्न अब हर उपाय र तयारी सहित जनतालाई महुशुस हुने गरि काम गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *