महामारीमा विकृत राजनीतिले ल्याएको निराशा

सम्पादकीय
राजनीति देश राज्यलाई मार्ग निर्देश गर्न अपरिहार्य विषय हो । नेपाली समाजमा राजनीतिलाई हेर्ने दृष्टिकोण उति धेरै सकरात्मक छैन । र त भन्ने गरिन्छ, राजनीति फोहोरी खेल हो । पञ्चायत, निरंकुश राजन्त्रात्मक शासन व्यवस्थाका बखतमा भएका राजनीतिक गतिविधिले राजनीति फोहोरी खेल भएको बुझ्न नागरिकलाई बिबश बनायो । यद्यपि, अहिले व्यवस्था बदलियो । पुराना व्यवस्थाहरु बदलेर अहिले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । यो व्यवस्थाको आगमनसँगै पुराना पात्र र प्रवृत्ति बदलिने अपेक्षा आम नागरिकमा थियो । नयाँ संघीय शासनको अभ्यास सँगै देशमा तीन तहको निर्वाचन समेत भयो । केन्द्र, प्रदेश र स्थानीय सरकार बन्यो । पाँच वर्षका लागि करिब दुई तिहाइ अभिमतक सहित संघीय सरकार बन्दा अब मुलुक राजनीतिक स्थायित्व र विकास प्राप्त गर्ने दिशामा गयो भन्ने आशा भरोसा थियो । तर, त्यो अहिले एकाएक टुटेको छ । जनताको सपना र भरोसा माथि कुठराघात भएको छ ।

पाँच वर्षको अभिमत सहित सत्ताको बागडोर सम्हालेका र सहकार्य गरेका दुई कम्युनिष्ट राजनीतिक दल बिभाजित बनेको छ । आन्तरिक विवादको चरम उत्कर्षमा नेकपा एमाले औपचारिक बिभाजनको घोषणा गर्न मात्र बाँकी रहेको अवस्थामा छ । एउटै पार्टी भएर पनि दुई पार्टी जस्तो गतिविधि छ । कहिले आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकार ढाल्न फ्लोर क्रस गर्ने, कहिले प्रधानमन्त्री माथिको अविश्वास प्रस्तावमा अविश्वास प्रस्तावमा विपक्षमा मतदान गर्न अनुपस्थित भई तटस्थ बस्ने त कहिले बिपक्षी गठबन्धनमा समाहित भएर आफ्नै पार्टी नेतृत्वको सरकार बिरुद्ध बैकल्पिक सरकार गठन गर्न सांसदको हस्ताक्षर गर्ने गराउने सम्म भइरहेको छ । अर्को तर्फ चुनावमा कार्यगत एकता र पछि पार्टी एकता र सरकारमा सहकार्य गरेर बिभाजित नेकपा माओवादी केन्द्र अहिले विपक्षि गठबन्धनमा छ । वर्तमान सरकार ढाल्न अनेक कसरतमा छ । पाँच वर्षका लागि जनताको अभिमतले विपक्षीमा बस्ने उद्घोष गरेको नेपाली कांग्रेस अहिले सत्ताको नेतृत्वको लागि प्रधानमन्त्रीमा दाबी पेश गरिरहेको छ । सत्ता रस्साकस्सीकै बिच प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सहित मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । तुलनात्मक रुपमा फोहोरी खेलबाट बचेको राष्ट्रिय जनमोर्चा समेत यसपटक गण्डकी प्रदेशको निर्वाचनबाट संसदीय राजनीतिको फोहोरी खेलमा मिसिएको छ ।

अब चुनावमा देश गएको छ । यो निर्धारित समयमा हुने नहुने अझै संशयमा छ । एक त सर्वोच्च अदालतमा पुगे के कस्तो फैसला आउनेछ, त्यो हेर्न बाँकी छ । यो भन्दा मुख्य कुरा त देशमा कोरोना महामारी कायमै छ । यो नियन्त्रण भन्दा माथि पुगेको छ । दैनिक दुई सय भन्दा बढी नागरिकको मृत्यु र हजारौंको संख्यामा संक्रमित थपिरहेका छन् । यस बेला सरकार र सबै राजनीतिक दल एकतावद्ध भएर कोरोना महामारीको सामना गर्नुपर्दथ्यो । तर, अस्वस्थ राजनीति गरेर नागरिकको स्वास्थ्य सुरक्षालाई बेवास्ता गरिएको छ । यसले नागरिकमा चरम निराशा छाएको छ । राजनीति प्रति चौतफी बितृष्णा र आक्रोश पैदा भएको छ । त्यसैले सरकार र राजनीतिक दल अझै पनि जिम्मेवार भएर अहिले सम्मका गल्ती कमजोरीबाट पाठ सिकेर अघि बढ्न आवश्यक छ । अन्यथा जनताले समयक्रममा सबैलाई यथोचित जवाफ दिने नै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *