प्रणाली विकास नगर्दाको दुखद परिणाम

सम्पादकीय
कुनै पनि देशको विकास र परिवर्तन कुन स्तरमा पुगेको छ भनेर विश्लेषण गर्ने मुख्य आधार त्यो देशमा कस्तो प्रणाली (सिस्टम) छ भन्नेमा आधारित हुन्छ । हामीकहाँ प्रणालीको राम्रो सँग विकास गर्न नसक्दा या प्रणाली स्थापित गर्न नसक्दा हरेक बिषयमा व्यक्ति प्रधान बन्ने र व्यक्ति नै हाबी हुने अवस्था बिद्यमान छ । त्यो नेपालमा भएको ऐतिहासिक परिवर्तन पश्चात पनि कायमै छ । कुनै महामारी, विपत्ति या संकटमा सरकारले व्यवस्थित हिसाबले काम गर्न नसक्दाको फाइदा उठाउँदै व्यक्ति ‘हिरो’ बन्ने प्रवृत्ति बढ्दो छ । त्यसको पछिल्लो उदाहरण अहिलेकै कोरोना भाइरस (कोभिड १९) को महामारीको यस बेलामा पनि प्रशस्त उदाहरण देखिन्छ । चाहे त्यो सडकमा बेवारिसे बनेका या रोजीरोटी बिहिन बनेकाहरुलाई पैसा उठाएर निशुल्क खाना खुवाउने विषय होस् या राहत बितरण होस् । बिभिन्न प्रकृतिका स्वरुप देखिन्छ, यो सरकारकै अकर्मण्यताका कारण सिर्जित समस्या हो ।

प्रणाली विकास गर्न नसक्दाको दुखद परिणामको उदाहरण हिजोको अस्पतालमा उपचाररत एक बिरामीको निधनको पनि हो । नारायणी अस्पतालमा डायलाइसिसको उचित प्रबन्ध नहुँदा हाँस्य कलाकार आदर्श मिश्रका बाबुको निधन भएको समाचारले देशकै ध्यान तानिएको छ । मिश्रका बुबा विनोदलाई बचाउन आदर्शको परिवारले गरेको अथक संघर्ष वियोगमा सकिएको छ । तर, देशको दुःखान्त अझै जारी छ । किनकि देशको स्वास्थ्य प्रणाली असंवेदनशील हुँदा १५ हजार परिवार मिर्गाैला प्रत्यारोपण र डायलाइसिसको पर्खाइमा पिल्सिएका छन् । देशमा मिर्गाैलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजार नियमित डायलाइसिसमा छन् । त्यसमध्ये पनि पाँच हजार आठ सय ९६ जनालाई विपन्न भएको भनेर सरकारले नै सूचीकृत गरेको छ । तर, डायलाइसिसलाई व्यवस्थित गर्न र प्रत्यारोपणको गति बढाउन सरकारले पहल गरेको छैन । विपन्न बिरामीले उपचार पाउन सक्ने वीरमा त प्रत्यारोपण नै अवरुद्ध छ ।

कोरोना महामारीको आगमन र यसक्रममा भएको रोकथाम, उपचार र नियन्त्रण अभियानले पनि स्वास्थ्य क्षेत्रमा सरकारी संस्थागत प्रणाली र तयारी धेरै कमजोर अवस्थामा छ । नीजि जतिसुकै ठुला भनिए पनि संकटमा साथ छोड्छन् । संकट या महामारीमा बलियो र बिश्वासिलो गरि उभिने भनेको सरकारी अस्पताल, चिकित्सक स्वास्थ्यकर्मी नै हुन् । त्यसैले सरकारले बिभिन्न व्यक्ति र स्वार्थ समूहको कुनै दबाब र प्रभावमा होइन, देशको अप्ठ्यारो र आवश्यकतामा आधारित भएर यहाँको प्रणाली (सिस्टम)लाई बलियो बनाउने गरि अघि बढ्न जरुरी छ । स्वास्थ्य निकै संवेदनशील मानिसको जीवन–मरणको विषय हो । यसलाई सरकारले अझै पनि खेलवाडको विषय कदापि बनाउनु हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *