आएन अझै जनमुखी व्यवस्था

राम सुवेदी
जनताको प्रत्यक्ष जनजीवनमा प्रभाव रहने राज्य व्यवस्था जनमूखी हुन्छ । जनताले राज्य व्यवस्थाको पहुँचसँगै, उसले ल्याउने नीति कार्यक्रमको प्रभाव खोज्दछ । जनता सरकारले ल्याउने योजना र बजेटको प्रभाव, पुहँच चाहन्छ । आफैले चुनेर पठाएका प्रतिनिधिहरुबाट आफ्ना माग, मुद्धा, समस्या सम्बोधन र सु्नुवाईको पर्खाइमा हुन्छ ।

निर्वाचनमा मत माग्दा नजरमा देखिने जनप्रतिनिधिहरु निर्वाचित भएपछि जनताको घरदैलो जाँदैनन् । उनीहरुको समस्या थाहा पाउँदैनन् । स्थानीय समस्याको पहिचान गरिंदैन । जनभावनाको कदर नगरिएको यही अवस्थाले राज्य व्यवस्था र त्यसमा आफैले मतदान गरेर पठाइएका प्रतिनिधि प्रति जनविश्वास चुँडिएको छ । मतदानले सम्मानित बनाएका जनप्रतिनिधिहरु उनीहरुको आफ्नो पहँुचमा नदेख्दा र नहुँदा राज्य व्यवस्था प्रति नै नागरिकको असन्तुष्टि देखिएको छ । यसकारण जनता जनमूखी व्यवस्था भोग गरेनन् ।

देशमा विभिन्न राजनैतिक तन्त्रहरु फेरिए । जसको नाम, नेता र राजनैतिक पार्र्टीहरुले न्वारान गरिदिए । जनताका नाममा उद्घाटित बहुदल (बहुदलीय राज्य व्यवस्था), लोकतन्त्र ( लोकतान्त्रिक व्यवस्था), गणतन्त्र (गणतान्त्रिक संघीय राज्य व्यवस्था) जहाँ–जहाँ जे भनिए पछि यसका खोटहरु अझै पनि प्रशस्त रहे । एक कालखण्डमा एक पटक ल्याइने भनिएको देशको संविधानको नयाँपन यिनै व्यवस्था परिवर्तनपछि असन्तुलित राजनेताहरुले ल्याएको नयाँ राजनैतिक फण्डा थियो । नयाँ संविधान एसियाकै उत्कृष्ट र नमूना भन्ने यिनै राजनैतिक पार्टीहरु हुन् । उनीहरुको राज्य व्यवस्था सञ्चालनका कमी कमजोरीले जनताको माग, मुद्धा छाडेर, नेता र राजनीतिको उद्वण्डता प्रहसनतिर उद्धत छन् । उनीहरुका भिन्न भिन्न नीति, सिद्धान्त र कार्यक्रमहरु एकातिर छाडेर सत्ताको एकत्वतिर ध्रुविकृत विकृति देखिएको छ ।

जव राजनीति नै सही लाइनमा रहँदैन । राजनैतिक दल आफ्नो नीति, सिद्धान्त र विधिको बाटोमा हुँदैनन् । नेताहरु आफैले बनाएको नीति, सिद्धान्त र विधान विपरित गलत बाटोमा उभिएका हुन्छन् । तब देशमा राजनैतिक छुद्रता देखिन्छ । व्यक्तिवादी चिन्तन जन्मन्छ । व्यक्ति पूजाको प्रचलन सुरु हुन्छ । व्यक्तिमा मनोवादी चरित्र, आचरण र प्रणालीको विकास हुन्छ । सामुहिकतावादी चरित्र छाडेको यस्तो विकृतलाई नै राजनीतिमा सामन्तवाद भनिएको हो । एउटा जड सामन्ती व्यवस्था फालेर ल्याएको गणतन्त्रात्मक राज्य व्यवस्थामा आउने यसखालको बिचलनलाई नव सामन्तवादी चरित्रको नेतृत्व जन्म भएको मानिन्छ ।

राजनीतिले एकातिर दलाली चरित्र जन्माएको छ । त्यसको पक्षपोषण र लालनपालन गरेको छ । त्यसले राज्य व्यवस्थालाई दलाली व्यवस्थामा उभ्याएको डरलाग्दो अवस्था छँदैछ । आज गाउँ गाउँमा राजनैतिक पार्र्टीका एजेन्टहरु छन् । अहिलेको राज्य व्यवस्था र त्यसका प्रतिनिधि जनताका बिचमा सिधा पहुँचमा नहुनुमा यिनै दलालहरु कारक तत्व हुन् । सामन्ती चरित्र र दलाली परिपाटीले उच्च तहका नेताहरुको ज्यू हजुरी गर्ने, नीति कार्यक्रम र योजना सरकारको पहुँच र प्रणाली छाडेर मैले ल्याएको, तैंले ल्याएको, यसको पहलमा आएको भन्ने भ्रमहरु भूई तहका जनतामा छरिरहेको हुन्छ । दलालहरु मेरो पहँुचमा नेता छ, सांसद छ, मन्त्री छ भनेर मिथ्या कुरा गर्छन् । जनतालाई दिग्भ्रमित बनाउँछन् । निर्वाचनमा तिनै दलालहरु गाउँ टोलमा परिचालित हुन्छन् । जनमत खरिद बिक्रीका लागि उनीहरु (जनताका दलाल) सक्रिय हुन्छन् । जनमतले हार्छ । दलालीहरु जित्छन् । दलाल परिचालन गरिएर निर्वाचित भएकाहरु तिनै एजेन्ट पाल्छन् । जनता पाल्दैनन् । यसलाई जनमूखी व्यवस्था भनिदैन ।

आजको राजनीतिमा देखिएको संकट र यसले तय गरिरहेको गलत रबैया यही हो । राज्य व्यवस्था सञ्चालकहरुको चरित्र नै दोषी छ भने त्यसलाई केही समय काँध हाल्ने दलालहरुको भरमा देशमा परिवर्तन आउँदैन । सचेत नागरिकको मानसिकताले के सोंच्ने ? केहीले दलिय समर्थनका लागि यही व्यवस्था राम्रो भनौंला । यहाँ भन्दा उन्नत व्यवस्थाको बहस पनि भएको होला । तर, व्यवस्था सञ्चालकहरु यही ग्राउण्डबाट आउने हुन् र आएका हुनेछन् । यिनै पात्रहरु, यही परिपाटी र यस्ता चरित्र भएका दल, नेता र नेतृत्वले देशमा फेरबदल ल्याउँछन् भनेर फेरि हामीनै पत्याउने ?

हिजो पञ्च्यायका नेताहरु बहुदलमा आए । बहुदल फेल बनाए, लोकतन्त्र भनिएको व्यवस्थामा उनै प्रतिनिधि पात्रहरु राज्य व्यवस्थापक भइदिए । त्यो पनि गतिलो भएन । जनता उक्साएर अहिले संघीय गणतान्त्रिक राज्य व्यवस्था भित्र छौं । आज हेरौं शासकीय रजगजमा को–को छ ? को फेरिए ? को फेरिएनन् ? केही फेरिएका पात्रहरुको चरित्र हेरौं ? उनीहरु हिजोका पञ्चहरुको रबैया भन्दा फरक भएर देश र जनताको हितकारी व्यवस्था चलाए ? उनीहरुको व्यक्तिगत र सामाजिक चरित्र टिक्ने र बिक्ने खालको छ ? सायद एकाध पात्रहरु बाहेक सबै दलाल पाल्ने र तिनै दलालको परिचालन गरेर राजकाज गर्ने अनैतिक खेलमा डुबेकै अवस्थामा छ ।

सरकारले आफ्ना नीति कार्यक्रममा ल्याएका कतिपय लोकप्रिय नाराहरु प्रति लक्षित वर्ग नै सन्तुष्ट छैन र पत्याउँदैनन् । चुनावका बेला जनतामा गरिएका प्रतिवद्धताहरु, पार्टी र त्यसका प्रतिनिधिहरुले ल्याएको घोषणापत्र उनीहरुबाटै लत्याइएको देख्दा लाग्दैन राजनीति र त्यसका नेता इमान्दार छन् । देशमा मौलाइरहेको भ्रष्टाचारमा तिनै जनप्रतिधिहरु मुछिन्छन् । भन्छन् यो व्यवस्थाले भष्ट्रहरुको अनुहार हेर्दैन । हिजो चप्पल लगाएर सडकमा पार्टीको झण्डा उचाल्नेहरु ४÷५ दशकमा अकुत सम्पत्तिका मालिक हुन्छन् । भोका नांगा जनताको घरदलानमा आटो पीठो मागेर पालिएका नेताहरु गरिबी उन्मुलनको भाषण गरे । चुहेको पिढीमा सुतेर तारामन्दल देखेका सर्वहारावादी भनिएका नेताहरु समृद्धिको नारा लगाए । आज आफै पूँजीपति फसादमा मुछिए । राजनीतिले बिचमा दलाल पालेर उनीहरु मार्फत दलाल प्रतिनिधिहरु नै राज्य तहमा पुग्छन् । जस्तो चरित्र हुन्छ, उस्तै चित्र बन्ने हो । आज त्यही भएको होला ।

सरकारले ल्याएको नीति कार्यक्रममा बृद्धबृद्धाहरुको मासिक भत्ता चार हजार घोषणा हुँदा, ति बृद्धबृद्धा भन्दा बढी खुसी तिनै दलालहरु छन् । एउटा पढेलेखेको युवालाई उसको शैक्षिक प्रमाणपत्र राखेर पच्चिस लाख रुपैयाँ सस्तो व्याजदरमा स्वरोजगारका लागि सरकारले कर्जा दिने नीति कार्यक्रम प्रति अर्को नपढेको दलालले खुसी मनाउ गरेको देखिन्छ । उता जो सेवाग्राही हो, त्यसले ओंठ पल्ट्याएर बसेको छ । गाउँको किसानलाई बीउ,मल र प्रविधिमैत्री योजना सरकार घोषणा गर्छ । त्यहाँ किसानको अनुहारमा चमक छैन । दलाल किसानहरु हुरुक्क भएका छन् । जो झोला र कागजमा कृषि गर्दछन् ।

देशमा तीन तहको सरकार छ । तिनै तहको सरकार जनताको भावनासँग जोडिएको छैन । एउटा वडाले गाउँमा कृषि सडक लैजाने योजना बनाउँदा त्यहाँको जनताले थाहा पाएको छैन । बिचका दलालहरुको उपभोक्ता समिति बन्नेमा मारामार हुन्छ । त्यो अवस्थाले जनता जनमूखी राज्य व्यवस्थाको परिकल्पना गर्न सकिरहेको छैन । जनताको पहुँचमा जवाफदेही जनप्रतिनिधि, उत्तरदायि राज्य व्यवस्था, पारदर्शी र जनसेवी प्रशासन स्थापित नभएसम्म जनताले आफ्नो जनमूखी व्यवस्था हेर्न र भोग गर्न सक्नेछैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *