गण्डकीको बदलावः प्रदेशको पाठ

सम्पादकीय
राजनीतिमा हर चिज जायज हुन्छ भन्ने संसदीय राजनीतिमा धेरै लामो समयदेखि जर्बजस्त रुपमा स्थापित छ । हर सुकर्म मात्रै होइन, कुकर्म पनि जायज हुने परम्परागत सोच र प्रभावले आजको राजनीति पनि विकृत बनिरहेको छ । हिजो जे थियो, त्यो गलत थियो । र व्यवस्था नै खराब भएको ठहर सहित पुराना व्यवस्थाहरु नै बदलियो । थुप्रै अतिवादी सोच र गतिविधिको खिलापमा ऐतिहासिक जनआन्दोलन भयो । त्यही जगमा स्थापित भयो संघीय लोकतान्त्रिक गणतन्त्र । यही भावना र मर्म सहित निर्माण भएको हो नेपालको नयाँ संविधान २०७२ । सोही संविधान कार्यान्वयनका क्रममा पहिलो पटक भएको हो केन्द्र, प्रदेश र स्थानीय (तीन तह)को निर्वाचन र बनेको हो सरकार ।

मुलुकमा पहिलो पटक तीन तहको सरकार बने पछि देशमा छुट्टै उत्साह थियो । विकास, समृद्धिको उभारको अपेक्षा थियो । नयाँ संघीय अभ्यासमा थुप्रै अनुभवजन्य कमजोरी हुँदा पनि नयाँ व्यवस्थाको आगमन सँगै मुलुकले विकास र समृद्धिमा गति लिने प्रशस्त संकेत थियो । दुर्भाग्य भन्नुपर्छ, सत्तामा पुगे पछि विगतमा संसदीय राजनीतिमा सत्ता पुगे पछि र सत्तामा पुग्नका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति व्याप्त देखियो । सत्ता र शक्तिकै आडमा सरकारको बागडोर सम्हालेको तत्कालिन नेकपा, अहिलेको नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राजमो आन्तरिक विवाद र विभाजनको अवस्थामा पुगे । संघीय सरकार धर्मराएको छ । दुई तिहाइको सरकार अल्पमत हुँदै दुई पटक संसद विघटन भएको छ । एमाले नेतृत्वकै गण्डकी प्रदेश सरकार ढलेर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । अरु धेरै प्रदेशहरुमा अविश्वासको प्रस्ताव सहित अस्थिरताको खेल जारी छ । जनताले राजनीतिक स्थिरता, विकास, समृद्धिका निम्ति नेकपा एमालेलाई पाँच वर्षका लागि बहुमत (पहिलो दल) बनाए । बिडम्बना परिणाम राम्रो देखिएन । निराशा कायमै रह्यो ।

अहिले जे अस्थिरता सिर्जना भएको छ । त्यो मुख्यतः सत्तारुढ नेकपा एमालेका शीर्ष नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिचको व्यक्तिगत टकराव, सत्ता शक्तिको होडबाजीको अहम् र कुण्ठाले हो । यसमै अरु विपक्षी दलहरुमा जागृत भएको सत्ता मोहले थप टेवा दियो । अब ढिला नगरि पाँच वर्षका लागि अभिमत प्राप्त सरकार तीन वर्ष सेरोफेरोमै ढल्ने अवस्था किन आयो ? कोरोना महामारीमा किन यस्तो राजनीतिक अस्थिरताको खेल खेलियो ? दुई तिहाइको अभिमत प्राप्त सरकार वाहवाही पाउने बेलामा बदनामित हुने अवस्था किन आयो ? अहिले गण्डकी प्रदेश सरकार गुमेको छ । यो वर्तमान सत्ता नेतृत्व सम्हालेको एमालेका लागि ठूलो झड्का मात्र होइन, गम्भीरतापूर्वक सोच्ने हो भने विद्यमान विवाद र विभाजनको संकटमा यो राम्रो पाठ र सिकाई हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *