निरन्तरको झरी, मनपरी र खतरा

सम्पादकीय
दुःख, पीडा, सन्त्रास, सकस । रोग, भोक, शोक, प्राकृतिक विपद् केके बाट जोगिनु ? एउटाबाट बल्लतल्ल जोगिन थाल्यो, अर्को समस्या र संकटले ग्रस्त बनाउनु नेपाल र नेपाली नागरिकको नियति बन्न थालेको छ । अहिले बर्खायाम सुरु भइसकेको छ । असार महिनाको सुरुवातसँगै तीन दिनदेखि भारी वर्षा भइरहेको छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि देशभर लकडाउन छ । मानिसहरु घर भित्रै छन् । तर, कोरोनाबाट जोगिन केही महिना यता घर भित्रै बसिरहेका बेला बर्खायामको अविरल वर्षाले उठिबास बनाउन थालेको छ । कोरोनाको रोगले मात्र सताइरहेको छैन, भोकले पनि सताइरहँदा फेरि प्राकृतिक विपद्बाट के कसरी जोगिने भन्ने पिरलो थपिएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा आइतवारदेखि भारी वर्षा जारी छ । जसका कारण गण्डकी र लुम्बिनीका विभिन्न जिल्ला भएर बग्ने ठूला नदीहरुमा बाढी आएको छ । गाउँ–गाउँमा पहिरो गएको छ । दर्जनौ घर पुरिन थालेका छन् । कैयन परिवार असारको पहिलो दिनमै विस्थापित भएका छन् । दर्जनौ परिवार बाढी पहिरोको थप जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागले अझै थप तीन दिन अविरल वर्षा हुने प्रक्षेपण गरेको छ । बाढी पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा नदीहरुमा बाढी आएकाले तटिय क्षेत्रका बासिन्दालाई समयमै सचेतता अपनाउन आग्रह गरेको छ । हिमाल पारिको जिल्ला मुस्ताङमा आएको बाढीले लुप्राङ गाउँ जोखिममा छ भने मनाङमा ताल बजार डुबानमा परेको छ । गण्डकी प्रदेशकै पर्वतको सेती बेनी बजार पनि डुबानमा छ । मनसुन सक्रिय भएकाले बाढी र पहिरो जान सक्ने खतरा कायमै छ ।

बर्खायाम खेतीपाती गर्ने सिजन हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा भारी वर्षा हुने र त्यसले निम्त्याउने प्राकृतिक विपदका घटना, मानवीय र भौतिक क्षति हाम्रा हरेक वर्षका नियति हुन् । अहिले गाउँ गाउँमा डोजर लगाएर मनपरी खनिएका सडक हरेक वर्ष काल बनेर आइरहेको छ । उसो त भूकम्पले पनि जमीन उस्तै थर्थराएको छ । हुन त विपत्ति बाजा बजाएर या पहिले सूचना दिएर आउँदैन । तर, सम्भावित जोखिमयुक्त गाउँ ठाउँको समयमै पहिचान गरेर पूर्वसतर्कता अपनाउन सकिन्छ । यसले अप्रिय घटना र ठूलो क्षतिबाट जोगाउन सकिन्छ । तीन दिनदेखि निरन्तर भारी वर्षा भइरहेको र अझ थप तीन दिन उस्तै वर्षा हुने अनुमान गरिएकाले यस अवधिमा विशेष सचेतता अपनाउन जरुरी छ । हर नागरिकले आफ्नो घर वरपरको विपद् जोखिमको ख्याल गरौं, सोही अनुसार त्यसबाट जोगिन व्यक्तिका साथै जिल्ला प्रशासन, स्थानीय सरकार, जनप्रतिनिधि र अगुवाले सम्भावित विकल्पको खोज गर्ने कार्यमा जिम्मेवार भूमिका खेलौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *