बर्खायाममा खानेपानीको नियमिततामा ध्यान देउ

सम्पादकीय
अहिले कोरोना भाइरस (कोभिड १९) कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिरहेको छ र घर भित्रै बस्न निर्देशन छ । तर, अभाव र बाध्यताहरुले नागरिकलाई घरबाट जबर्जस्त बाहिर निस्कनु पर्ने अवस्था छ । बागलुङ बजार खानेपानीको समस्याबाट ग्रस्त छ । लगातार परेको पानीले एकसातादेखि खानेपानीको आपुर्ति रोकिएको छ । बागलुङ नगरपालिका–३ गहतेमा गएको पहिरोले खानेपानी पाइप बगाएको, काठेखोला गाउँपालिका–७ रेशको जिरेदी, बतासेडाँडा लगायतमा पहिरोले खानेपानीको पाइप बगाएको छ भने पहिरोकै कारण बागलुङ नगरपालिका वडा न ३ सुल्डाँडामा रहेको खानेपानीको रिजर्भ ट्याङ्की समेत जोखिममा परेको छ । अवरुद्ध खानेपानी सूचारुका लागि बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले मर्मत कार्य जारी रहेको बताएको छ । यद्यपि, कहिले आउने अझै अनिश्चयको भूमरीमा छ ।

बागलुङ बजारमा खानेपानी आपुर्ति नहुँदा अहिले हाहाकारको अवस्था छ । खानेपानीको अभावमा बजारबासी लकडाउन तोडेर घर बाहिर निस्कन त बाध्य छन नै । उनीहरु अहिले बजार नजिकैको तित्याङ, गैडाकोट, सुल्डाँडा, पाखाथर, हाँडेपाखा, कुँडुले लगायतका स्थानमा धाउदै आएका छन् । एकातिर पिउने पानीको समस्या छ भने अर्को तर्फ नुहाउन, कपडा धुन सरसफाईमा समेत समस्या भइरहेको छ । ६ दिन दिनदेखि धारामा पानी नआउँदा शौचालय जान समेत कठिन अवस्था सिर्जना भइरहेको छ । अहिले आकाशे पानीको भर पर्नुपर्ने विवशता समेत देखिएको छ । कोरोना महामारीले निषेधाज्ञा जारी गरेको समयमा खानेपानीको अभावले नागरिकलाई झनै सकस र सास्ती खेप्नु परिरहेको दुखद दृश्य नगर खानेपानी संस्थाका प्रमुख प्रतिनिधि, प्राविधिकहरुले पनि दैनिक देखिरहेकै छन् । यसका लागि खानेपानीको प्राविधिक जनशक्ति निरन्तर खानेपानी सूचारुका लागि प्रयासरत रहेको जनाएको पनि छ ।

खानेपानी दैनिक जीवन व्यवहारको अभिन्न पाटो हो । बागलुङ जिल्ला सदरमुकाममा प्रति सेकेण्ड ६० लिटर पानीको माग छ । प्रति सेकेण्ड ४० लिटर खानेपानी मात्रे आपूर्ति हुँदै आएको छ । यही पानी पनि ठप्प हुँदा अभावको अवधि एक साता पुग्न लाग्दा स्वभाविक छटपटि,समस्या र संकटहरु बजारबासीले भोगिरहेका छन् । बर्खायाम भर्खर सुरु भएको छ । यसबाट भोलीका दिनमा समेत नगर उपभोक्ता संस्थाले आवश्यक सजगता र तयारी गर्नुपर्छ । हुन त यो इच्छा शक्तिले मात्र नहुने प्राविधिक विषय हो । यद्यपि, अहिलेको अवरुद्ध खानेपानी सूचारुका लागि नगर खानेपानी उपभोक्ता संस्थाले आफ्ना सबै जनशक्ति र क्षमता परिचालन गर्नुपर्दछ । त्यसमा नेपाली सेना, प्रहरी या त्यस इतर नागरिकको पनि साथ जरुर भए समयमै भन्नुपर्दछ । तर, खानेपानी सञ्चालन छिटो गर्ने कुरालाई निश्चित गर्नुपर्दछ । नत्र यसले कोरोना संक्रमणको जोखिमको सिकार बन्ने, पानीको अभावमा प्रयाप्त सरसफाई नहुँदा लाग्ने रोगहरु समेत लाग्ने जोखिम अधिक हुन्छ । अतः तत्काल खानेपानी सूचारुका सम्भावित सबै विकल्प प्रयोग गरेर खानेपानी सूचारु गर्न कुनै कसर बाँकी नराखौं । यो समयको संकट र संवेदनशीलतालाई बोध गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *