विभेदका बदलिँदा रुप

सम्पादकीय
आजको आधुनिक समाज पनि पुराना सामाजिक व्यथिति, कुरीति, कुसंस्कारबाट ग्रसित छ । स्मार्ट भिलेज र स्मार्ट सिटीको नारा अलाप्ने र अपेक्षा गर्नेहरुको सोच र व्यवहार उही पुर्खजहरुको जस्तो बिभेदपूर्ण र बिसंगत छ । परम्परागत कुसंस्कारजन्य गतिविधिलाई प्रश्रय दिने पुराना व्यवस्थाहरु बदलिएको छ । तर, कतिपय अवस्था र प्रवृत्तिहरु उस्तै हालतमा छन् । कतिपय विभेद र विसंगति भने स्वरुप बदलेर समाजमा देखा परिरहेका छन् । हुन त नेपाली समाज बिभिन्न जातजाती, भाषा, धर्म, लिंगका बिबिधताबाट बनेको समाज हो । यस भित्र भिन्न भिन्न पात्र र प्रवृत्ति देखिनु नौलो कुरा रहेन । तर, नेपालको संविधानले परिकल्पना गरेको राज्य व्यवस्था, ऐन, कानुनको पालना गर्नु हामी सबैको दायित्व हो । यद्यपि, यसमा पनि राज्य प्रति भएका थप अपेक्षा, आवाज र फरक मतहरु राख्ने स्वतन्त्रता भने सबैलाई छ ।

पछिल्लो समय राजधानीमै जातकै कारण एक दलित युवतीले कोठा नपाएको घटनाले सिंगो देश तंरगित छ । यो घटना पश्चात यसलाई फरक हिसाबले ट्वीस्ट गर्ने क्रम समेत चलेको छ । ‘दलित भएकै कारण कोठा नपाउनु र बाहुन भएकै कारण कोटा नपाउनु उस्तै हो ।’ त्यो जातीय विभेदको घटना बाहिर आए पछि त्यसमा बल पुग्ने गरि अहिले फेसबुकमा केही शिक्षित, सचेत व्यक्ति, ट्रोल नेपाल लगायतको पेजले यी र यस्ता आशयको स्टाटस शेयर गरिरहेका छन् । यसले कोठाको विभेद सँग कोटाको पनि विभेद भएको अभिव्यक्त गर्छ । हो, सत्य हो कि जातकै कारण कोठा नपाउनुको बिभेद जस्तै कोटा नपाउनेहरुको पीडाका हिस्सा पनि छन् । तर, यसलाई बराबरी या कोटाको बदला कोठामा लिने बिभेदको सोच घातक र अमानवीय हो । के यस्तो प्रश्न सवालको उत्तर ‘दलित’ समुदायले मात्रै खोज्ने र दिनुपर्ने हो ? विवेक र चेतनाले उठेका मानिसहरु पनि यस्तो मुद्धामा किन खतरानक मौनता साँध्छौ ?

कोटा सिमित समय, जाती, समुदायका लागि राज्यले विशेष परिस्थितिमा निर्दिष्ट गरेको व्यवस्था हो । कोटामा राज्यले कतै विभेद या अवैज्ञानिक निर्णय गरेको छ भने त्यसलाई फरक हिसाबले राख्न सकिन्छ । तर, समाजमा हुने जातीय विभेदको घटनामा या जातकै आधारमा कोठा नपाएको घटनामा कोटाको कुरा जोडेर विभेदलाई प्रश्रय दिने कार्य उचित होइन । कोटामा राज्यको शासन, कोठामा केबल घरधनीको शासन चल्छ । के तपाईले चलाइरहेको घरको शासनमा विभेद स्भाविक चल्छ ? तपाईमा पनि असमानताको शासन चलाउने पुर्खजको बिरासत मोह छ ? हैन भने समानतालाई स्वीकार गरौं, सबै समान भए पछि समानहरुका बिचमा प्रतिस्पर्धा पनि समान हुन्छ, त्यसबेला कोटा कसैलाई जरुर हुने छैन । जातकै आधारमा कोठा नदिनु सामाजिक अपराध हो । जातका आधारमा हुने सबै विभेद अन्त्य गरौ !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *