सम्पादकीय
असारे विकासले देशले अपेक्षित गति र समृद्धि हासिल गर्न नसकेको तितो यथार्थता हामीसँग छ । हरेक आर्थिक वर्षको सुरुवात साउनमा हुन्छ र असारमा सकिन्छ । वर्षका आधारमा बैशाखबाट नभई आर्थिक वर्षको नयाँ परिकल्पना र अभ्यास गर्नुका पछाडि नेपालको याम परिवर्तन र अरु भुगोल परिस्थिति कारक होलान् । यसमा बैज्ञानिकता पनि देखिन्छ । बर्खा लाग्ने बेला सम्म काम सक्ने र आर्थिक वर्ष सकिन्छ भन्ने अन्तर्य देखिन्छ । यसको बोध गरेर नेपालमा जे जसरी काम हुनुपर्ने थियो, त्यस्तो अवस्था भने पाइएको छैन । हरेक वर्ष असारको सम्मुखमा बर्खे झरी लागे पछि काम हुने र बजेट निकासा खर्च हुने परिपाटीले विकासमा बजेट बालुवामा पानी जस्तो भएको कतै छिपेको छैन ।
यस वर्ष त अझ पुरै आर्थिक वर्षभर कोरोना कहरले गिजोल्यो । आम मानिसहरुलाई पछिल्लो सयम घर भित्रै कैद भएर बस्न बिबश बनायो । अरु साधारण समयमा त विकासका काममा असारको समय पर्खिने प्रवृत्ति व्याप्त रहेकोमा यसपाली कोरोना कारक र बाहना बनेको छ । जसले गर्दा विकास बजेट खर्च पनि निराशाजनक अवस्थामा देखिन्छ । गत आर्थिक वर्ष २०७६/७७ मा गण्डकी प्रदेशको बजेट खर्च ६३ प्रतिशत थियो । चालु आर्थिक वर्ष २०७७/७८ मा बजेट खर्च ७० प्रतिशत पुग्ने आँकलन प्रदेश लेखा नियन्त्रकको कार्यालयको छ । असार ७ सोमबारसम्म गण्डकी प्रदेशको आर्थिक वर्ष ०७७÷७८ को बजेट खर्चमात्र ४४.७८ प्रतिशत छ । यस हिसाबले ७० प्रतिशत बजेट खर्च गर्नु चुनौतीपूर्ण देखिन्छ । यसका लागि दैनिक ३६ करोड ६ लाख बढी रकम भुक्तानी हुनुपर्छ । ७० प्रतिशत बजेट खर्च पु¥याउन यो असारभित्र ९० करोड १६ लाख ७१ हजार बढी रुपैयाँ खर्च गरिनुपर्छ । पहिलेका वर्षमा असारमहिनामा मात्रै २५ देखि ३० प्रतिशत बजेट खर्च हुने गरेको थियो ।
विकास, योजना र कार्यक्रमको अन्तिम समयमा बढी बजेट खर्च हुने या देखिने त स्वभाविक हुनसक्छ । तर, नेपालमा काम सम्पन्न गरेर बजेट लिने बेला बल्ल काम सुरु गर्ने र हतार–हतार बजेट निकासा गर्ने प्रवृत्ति अधिक छ । जसले गर्दा दीगो विकासमा समस्या देखिएको छ । बिल मिलान गरेर कागजी रुपमा योजना सम्पन्न गर्न गराउने विकृत श्रृखंला पनि यसक्रममा देखिन्छ । गुणस्तरहीन कामले विकास मौसमी र क्षणिक भएको छ । वर्षेनी नेपालको असारे विकास र खर्चको व्यथितिका बारेमा बहस, चर्चा र सरकारी निकायको आलोचना पनि हुने गरेको छ । तर, यसमा अपेक्षित सुधार अझै हुन सकेको छैन । केही स्थानीय तहहरुले यसमा सकारात्मक थालनी गरेका पनि छन् । यस्ता सत्प्रयासलाई अझ उदाहरणीय र प्राथमिकता दिँदै असारे विकासको व्यथिति अन्त्य गर्न सबैको सचेत र जिम्मेवारपूर्ण भूमिका आवश्यक छ ।