सम्पादकीय
असार १५ अर्थात राष्ट्रिय धान दिवस मंगलबार देशभर रोपाइँ गरेर मनाइएको छ । नेपाली समाजमा असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा समेत लिइने गरिन्छ । यसवर्ष समयमै वर्षा भएकाले पनि किसानहरुले असारको पहिलो साता देखि नै धान रोपाइँ थालेका थिए । यो क्रम असार १५ सम्म आइपुग्दा सिञ्चाईको सहजता भएका खेतबारीमा धान रोपिसकेको छ भने असार १५ को दिनमा १५ देखि २० प्रतिशत खेतमा रोपाइँ गरिएको छ । असार १५ किसानहरुका लागि त्यस्तो उत्साह पर्वको दिन हो, जुन दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा समेत खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाएका छन् ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा विशेष रोपाईं महोत्सव गरिन्थ्यो । यसपटक कोरोनाको दोस्रो भेरियन्टले धेरै हद सम्म रोपाइँ उत्सव पनि प्रभावित भएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ । बागलुङमा असार मध्ये सम्म आइपुग्दा ३५ देखि ४० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । यसवर्ष वर्षा (झरी) समयमै भए पनि बीउँ समयमा तयार नभएका कारण रोपाइँ गर्न केही ढिलाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
असार १५ किसानहरुका लागि जे जति ऐतिहासिक उत्सवको दिन हो । पछिल्लो समय किसान भन्दा पनि गैर किसानहरुले देखावटी रुपमा मनाउने प्रचलन पनि व्याप्त बन्न थालेको छ । धान रोपाइँ नगर्ने या नजान्ने तर हिलो खेलेर सामाजिक सञ्जालमा फोटो हाल्नेहरुको होडबाजी देखिन्छ । यसले असली किसानहरुको मनोविज्ञान या योगदानमा कति गम्भीर असर गर्ला ? या काम नगर्ने तर प्रचार गर्ने मोहले कृषि प्रधान देश र समाजलाई अब कहाँ पु¥याउँला ? यो गम्भीर र सोचनीय विषय छ । युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा ह्रास आइरहेको छ । यस्तो बेलामा असार १५ मा मात्रै होइन, ३६५ दिननै किसानहरुको कर्मलाई सम्मान गर्ने, हाम्रो हिलो माटोको माया गरेर समर्पित हुुने सोच आउन सक्यो भने मात्र असार १५ भिन्न भिन्न किसिमले मनाउनुको पनि असली अर्थ र सन्देश हुनेछ ।