कोरोना तेस्रो लहर, त्रास र पूर्व तयारी

सम्पादकीय
कोभिड–१९ संक्रमणको महामारीले आम नागरिक आजित छन् । पहिलो लहर आएको एक वर्ष पुरापुर नहुँदै सुरु भएको दोस्रो लहरको भेरियन्टले अझ बढी नागरिक प्रभावित बने । अघिल्लो वर्ष भन्दा यसपटक अझ बढी संक्रमित मात्रै बनेनन्, ज्यान समेत गुमाए । संक्रमित भएकाहरुले पनि धेरै सकस भोगेको अनुभव बाँडिरहेका छन् । दोस्रो भेरियन्टका कारण धौलागिरीका बागलुङ बढी प्रभावित बन्यो । उसो त पहिलो चरणमै नेपालको पाँचौ र छैठौं संक्रमित समेत यही जिल्लामा देखियो । दोस्रो भेरियन्टमा पनि कोरोनाबाट अति प्रभावित सिमित जिल्लामा बागलुङ दर्ज भयो । यस जिल्लामा ५ हजार १ सय १७ जना संक्रमित भए । जसमध्ये ४ हजार ६ सय ८६ जनाले कोरोना जितिसकेका छन् भने ५८ जनाको मृत्यु भएको छ । अहिले पनि ३ सय ७३ जना संक्रिय संक्रमित छन् ।

दोस्रो भेरियन्टको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि अहिले पनि धेरै स्थानमा लकडाउन छ, कतिपय स्थानमा लुज डाउन छ । यो चरणमा कोरोना संक्रमितको उपचारमा धेरै समस्या देखियो । अस्पतालमा शैया अभावदेखि अक्सिजनको हाहाकारको अवस्था भयो । अहिले यो केही मत्थर भएको आभाष भएको छ । संक्रमण दरमा केही कमी भएको छ । भलै अहिले परीक्षण दर नै कम भएको भन्ने तर्क पनि छ । तीब्र संक्रमण र मृत्युदर कम भइरहेको खबर चर्चा परिचर्चाका बिच कोभिडकै तेस्रो लहर सुरु हुने खबर सार्वजनिक भएको छ । तेस्रो लहरमा बालबालिकामा सबैभन्दा बढी असर पार्ने विज्ञ तथा चिकित्सकको अनुमान समेत छ । यद्यपि, विश्व स्वास्थ्य संगठन जस्तो आधिकारिक संस्था र ए.सी.आर. जस्ता वैज्ञानिक जर्नलहरूले यस विषयमा वैज्ञानिक तथ्य पुष्टि नभएको दावी गर्छन् ।

नेपालको हकमा पहिलो लहरमा अधिक ज्येष्ठ नागरिक प्रभावित बनेका थिए भने दोस्रो लहरमा युवाहरु संक्रमणको सिकार बने । र अहिले बालबालिका भन्ने जे आएको छ, यो गलत भए राम्रै भयो । तर, साँच्चिकै तेस्रो लहर आयो र बालबालिका प्रभावित हुने अवस्था पनि आउन सक्ने तर्फ बेवास्ता कदापि गर्नु हुँदैन । अहिले सम्म बालबालिकाले देशभरमा कत्ति पनि भ्याक्सिन समेत लाएका छैनन् । अतः सम्भावित भेरियन्टको भाइरस आगमन प्रति पूर्ववत सजगता र तयारी समयमै गर्न आवश्यक छ । आउँदो लहरबारे सोचेर तत्काल हतोत्साही हुनु पर्ने अवस्था नभए पनि पूर्ववत सावधानी र स्वास्थ्य प्रणालीमा सुधारसहितको तयारीमा जोड दिनु नेपाल र नेपालीका लागि राम्रै कदम हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *