सम्पादकीय
नेकपा एमाले नयाँ संविधान जारी भए पश्चात भएको नयाँ संघीय अभ्यासको निर्वाचनमा पहिलो पार्टी बन्यो । केन्द्र र प्रदेशमा सबै भन्दा ठूलो दल मात्रै बनेन, बामपन्थी अभिमतलाई एकीत्रित गरेर दुई तिहाईको सरकार समेत बनायो । पाँच वर्षका लागि गठित सरकार अहिले भने साढे ३ वर्ष पुरा हुँदा नहुँदै संकटमा परेको छ । गण्डकी प्रदेशमा त एमाले नेतृत्वको सरकार ढलेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनिसकेको छ । अरु प्रदेशका एमाले नेतृत्वका सरकार पनि ढर्रमराएको छ । एमाले पार्टी आफै छिन्न भिन्न अवस्थामा छ । औपचारिक रुपमा बिभाजित नभए पनि गतिविधिका हिसाबले एमाले अहिले दुई भागमा बिभाजित छ । लुम्बिनी,बाग्मति प्रदेश सरकार लगायतमा एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा पुग्नु पनि एमाले आफ्नै कारण हो ।
एमालेको आन्तरिक विवाद एमाले भित्रै मात्र सिमित रहेन । सरकारको नेतृत्व समेत गरेकाले यसले सिंगो देशमा अस्थिरता पैदा भएको छ । एकथरी एमाले सरकार र अर्को थरी एमाले सडक र विपक्षी गठबन्धनमा आवद्ध र आन्दोलित भएको बिडम्बनापूर्ण परिदृश्य आज नेपाली जनताले मुकदर्शक बनेर हेरिरहेका छन् । अहिले विभाजनको औपचारिक घोषणाको सम्मुखमा भएको देखिएको छ । वार्तामा ’ब्रेक’ लागेपछि एमालेका दुई बिरोधी खेमाका बिच विवाद उत्कर्षमा छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्न दुई दिनको समय सिमा दिएका छन्, नत्र एमाले भन्न र मान्न नसकिने उद्घोष गरेका छन् । यता, माधव नेपालले अदालत र निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडान राखिरहेका छन् । यसमा नेपाल पक्षले ओलीले एकता नचाहेको, २०७५ जेठ २ गतेको एमालेको कमिटिमा नफर्किएको र वार्ताको नाममा षड्यन्त्र गरेको जिकिर छ । ओली पक्षले भने नेपाल प्रचण्ड, देउबाको पासोमा फसिसकेकाले एमालेमा नबस्ने र एक पछि अर्को अनावश्यक बखेडा झिकिरहेको आरोप लगाएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा एमालेले गत चुनावबाट जुन ऐतिहासिक सफलता आर्जन ग¥यो । त्यसले आम रुपमा ठूलो उत्साह एमालेजनमा मात्र होइन, जनतामा पनि थियो । तर, अहिले यो भुकम्पले धरहरा ढलाए जस्तो गर्लाम्मै विश्वासको धरहरा ढलेको छ । अहिले आफै सरकार र आफै विपक्षी बनिरहेको छ । नेताहरु एक अर्का प्रति निकृष्ट गाली, आक्रोश र कुण्ठाले जनतालाई पूर्णतयाः बिर्सिरहेको आभाष हुन्छ । यद्यपि, एमाले नेतृत्व र पक्ष बिपक्षमा बिभाजित नेता कार्यकर्तालाई हेक्का होस् कि जनताको अभिमत र विश्वास माथि जेजस्ता अपवित्र र अशोभनीय हर्कत गरिएको छ, यसको मूल्य निकै मंहगो पर्ने निश्चित छ । अझै पनि शीर्ष नेतृत्व सच्चिने भन्दा कत्ति नहच्किने बाटोमा छन्, यो एमालेको दुवै पक्षको समाप्तीको बाटो हो भन्ने बुझ्न ढिलाई नहोस् ।