पाँचौ सत्ता बागडोरका लागि देउबालाई बधाई

सम्पादकीय
पाँच वर्षका लागि बाम जनमत सहितको तत्कालीन नेकपा एमाले नेतृत्वको सरकार थियो । दुई तिहाईको त्यही सरकार आन्तरिक विवाद उत्कर्षमा पुग्दा अन्ततः सत्ताबाट डेढ वर्ष अगावै बहिगर्मन भएको छ । त्यो पनि जनताको जनादेशमा होइन, सर्वोच्च अदालतको परमादेशमा बिदाई हुनुपरेको छ । र अदालतले नै प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउबालाई नियुक्त गर्न भन्यो । र सोही बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६ (५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

देउबाको राजनीतिक इतिहास लामो छ तर आम नेपालीका बिचमा त्यति धेरै सुखद र गर्विलो छैन । २०४८ सालमा पहिलो पटक डडेल्धुराबाट सांसद निर्वाचित देउबा २०४८ सालमा कांग्रेस सरकारमा गृहमन्त्री बनेका थिए । २०५१ मा संसदीय दलको नेता बनेका उनी ०५२ मा भदौ २६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०५८ साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बने । तर, दुर्भाग्य भन्नुपर्छ २०५९ असोज १८ गते तत्काल राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गरेर प्रधानमन्त्रीबाट वर्खास्त गरिदिए । २०५९ असारमा कांग्रेस पार्टी फुटाए र कांग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति बने । २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री त बने । फेरि नौ महिनामै ज्ञानेन्द्रले बर्खास्त गरे । २०६४ मा कांग्रेस पार्टी एकीकरणपछि वरिष्ठ नेता बनेर २०७२ सालमै कांग्रेस पार्टीको सभापति बने । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री बने । र अहिले पाँचौ पटक प्रधानमन्त्री बनेका छन् । अहिलेको सत्ता आरोहण कांग्रेस या अरु विपक्षी दल मात्रैले भन्दा पनि सत्तारुढ नेकपा एमालेकै नेता र सांसदहरुकै सहयोगमा भएका छन् । पार्टी भित्र माधव नेपाल समूहको विवाद नै देउबालाई सत्ता आसनको सुखद संयोग बन्यो ।

प्रधानमन्त्रीमा अदालतको परमादेशमा नियुक्त भए पनि देउबा लागि आगामी दिन र बाटो सहज र सरल अवश्य छैनन् । देउबालाई प्रधानमन्त्री बनाए लगत्तै निरन्तर काँध थापेका एमाले नेता माधव नेपालले गठबन्धन छोडेको घोषणा गरेका छन् । अबको एक महिनामा विश्वासको मत लिनुपर्नेछ । त्यसमा सफल बनाउनु पर्ने त छ नै । त्यस भित्र गठबन्धनलाई चित्त बुझाउनु पर्नेछ । समग्र नेपाल र नेपालीलाई त छँदैछ । यसमा अर्को पाटो पनि छ कि प्रधानमन्त्री देउबाको सत्ता बागडोर सम्हाल्दाको विगत त्यति राम्रो छैन । यस कारणले पनि सरकार फेरबदलको धेरै उत्साह र खुसी नागरिकमा देखिएन । अब विगत बिर्साउने गरी प्रधानमन्त्री शेरबहादुर देउबाले काम गर्नुपर्नेछ । देशको पाचौ पटक प्रधानमन्त्री बन्ने कुरा सामान्य हुँदै होइन । यस्तो दुर्लभ अवसर र इतिहास रच्ने काम देउबाबाट भएको छ । कोरोनाको यो कठिन र राजनीतिक संकटका बिचमा सत्कर्म र सत्प्रयासले सुखद र गर्विला इतिहास रच्ने काम होस्, हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *