फेरि लकडाउन !

सम्पादकीय
कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण भयावह अझै कायम छ । तीब्र गतिमा फैलिँदो कोरोनाका कारण देशका अधिक जिल्लामा वैशाख १६ गते यता बन्दाबन्दी, निषेधाज्ञा जारी छ । भलै पछिल्लो समय राजधानी सहित मोफसलका जिल्लाहरुमा पनि निषेधाज्ञा खुकुलो बनाइएको छ । केही निश्चित क्षेत्र बाहेक अन्य सबै क्षेत्रलाई भने सञ्चालन गर्न दिइएको छ । बागलुङमा पनि गत आइतबारदेखि लकडाउन लाई लुज डाउनमा रुपान्तरित गरिएको छ । सार्वजनिक सवारी साधन सञ्चालन देखि व्यापार व्यवसायमा पनि धेरै खुकुलो नीति अबलम्बन गरिएको छ । बजारमा मानिसहरुको चहल पहल बढेको छ । गाउँ गाउँबाट आवत जावत गर्ने र जिल्ला सदरमुकामबाट पोखरा लगायतका शहरमा छुट्ने सार्वजनिक सवारी साधन पनि सञ्चालन हुन थालेका छन् ।

लामो समयदेखि जारी लकडाउन पश्चात कोभिड संक्रमण दर केही घट्यो पनि । सरकारले त्यही विषयलाई आधार बनाउँदै लकडाउन खुकुलो बनायो । हुन त सरकारलाई आर्थिक वर्ष अन्त्यको चटारो पनि थियो । राजश्व संकलन गर्नुपर्ने बाध्यता पनि थियो । तर, लकडाउन खुकुलो बनाए सँगै कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । बागलुङ बजारका साथै बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा अहिले कोरोना संक्रमितको संख्या अधिक देखिएको छ । यही अवधिमा गण्डकी प्रदेशमा समेत नयाँ प्रकृतिको भाइरस फेला परेको छ । प्रदेशको गोरखा र स्याङ्जामा गरेको नमुना परीक्षणमा पाँच जनामा नयाँ भाइरस पुष्टि भएको हो । यो तेस्रो भेरियन्टको भाइरस दोस्रो भन्दा पनि अझ बढी संक्रमक रहेको हो । अघिल्लो वर्ष कोरोना भाइरस पहिलो पटक आएकाले ठूलो आतंक र भयावहको अवस्थामा थियो । पहिलोको तुलनामा दोस्रो भाइरसले धेरैको ज्यान लियो र निको भएकाहरुले पनि दोस्रो भेरियन्ट जितेर पनि सकस भइरहेको बताइरहेका छन् ।

कोरोना भाइरस नियन्त्रण हुने अवस्था अझै सहज देखिएको छैन । विश्वका बिभिन्न देशले कोभिड विरुद्ध भ्याक्सिन बनाएर प्रयोगमा त ल्याइएको छ । तर, यसका बाबजुद पनि कोरोना संक्रमण फैलिने क्रम जारी छ । नियन्त्रण उन्मुख ठानिएको कोरोना अहिले जिल्ला जिल्लामा फेरि फैलिन थालेको छ । र विस्तारै खुकुलो बनाइएको लकडाउन अब के गर्ने भन्ने अन्यौलता पैदा भएको छ । नेपालमा कोरोना विरुद्ध भ्याक्सिन त विस्तारै ल्याउने क्रम बढ्दो छ । तर, अहिले तत्कालै खुल्ला छोड्दा त्यसले निम्त्याउन सक्ने खतरालाई सामान्य आँकलन गर्ने भुल गर्नुहुँदैन । यति भन्दै गर्दा लामो समयदेखि जारी लकडाउनले रोगले भन्दा पनि भोकले मर्ने अवस्थाको जोखिम प्रति पनि ध्यान दिनु जरुरी छ । तर, मुख्यतः जीवन जोगाउने विषय प्राथमिकता हुनुपर्छ । लकडाउन फेरि गर्ने बजार हल्ला त छ । नाम मात्रको लकडाउनले कोरोना रोकथाम र नियन्त्रण सम्भव छैन । यसमा लकडाउनको मोडालिटी परिवर्तन गरेर थप संक्रमण फैलिन नदिने तर्फ सरकार र सरोकारवालाले ध्यान केन्द्रित गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *