सम्पादकीय
नयाँ संघीय अभ्यासमा पहिलो पटक भएको निर्वाचनमा नेकपा एमाले मुलुकको पहिलो पार्टी बन्यो । संघीय संसददेखि प्रादेशिक र स्थानीय तहमा ऐतिहासिक जित हासिल गर्दा नेपाली नागरिकमा पनि ठूलो उत्साह थियो । पाँच वर्षका लागि प्राप्त गरेको अभिमतले राजनीतिक स्थिरताका साथै देशले समृद्धि समेत हासिल गर्ने भरोसा उल्लेख्य थियो । दुर्भाग्य भन्नुपर्छ, यो आम आशा भरोसा एकाएक चकनाचुर मात्रै भएन । साढे तीन वर्षको अन्तरालमै देशको पहिलो दल बनेको एमाले आफै इतिहासको सबै भन्दा बदनामित पार्टी मात्रै होइन, अराजनीतिक विषय र विवादको उल्झनमा निल्नु न ओकल्नुको अवस्थामा छ । आफ्नै पार्टीका नेताका कारण एमाले नेतृत्वको सरकार ढलिसकेको छ । र सोँच्दै नसोचेको सफलता र अवसर प्रमुख प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसलाई प्राप्त भएको छ ।
वर्तमानको काल क्रममा यस्तो दिन पनि आयो कि एमालेकै २३ नेताले आफ्ना पार्टी अध्यक्ष नेतृत्वमा रहेको सरकार ढालेर विपक्षी कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाए । यो सायदै विश्व राजनीतिक घटनाक्रममा दुर्लभ परिघटना होला । आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बिच ठूलै रस्साकस्सी चल्यो । पार्टी बिभाजन भए बराबर गतिविधि भए । एक अर्को पक्षबिच उस्तै निकृष्ट आरोप प्रत्यारोप चलिरह्यो । जो अझै जारी छ । प्रधानमन्त्री ओली सर्वोच्च अदालतले शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी पश्चात बालुवाटार छाडेर जाँदै गर्दा एमाले नेता माधव नेपाली देउबालाई हात मिलाएरै बधाई दिनमा तल्लिन थिए । यही आक्रोशमा ओली पक्षिय युवा संघका कार्यकर्ताले त माधव नेपालको पुत्ला समेत जलाए । दुई दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन अखिल फोर्स गठन गरिएको खुलमखुल्ला घोषणा समेत गरिएको छ ।
देशका लागि कुनै पनि पार्टी फुट्नु या विवादले ग्रस्त हुनु राम्रो कुरा होइन । एमाले र तीनका निकट नेता कार्यकर्ता बिच जे जस्ता गतिविधि देखिदैछ । यसले तत्कालका लागि कुनै समूहलाई जित हारको रुपमा आनन्द मिल्ला । तर, दुवै पक्षमा अतिवाद हाबी देखिन्छ । आफ्ना कमिकमजोरीको निर्मम समिक्षा भन्दा एक अर्कोलाई नै भित्तामा पु¥याउने कुण्ठा र आग्रहले पार्टी बिभाजन तर्फ उन्मुख छ । एमालेका लागि दोस्रो तहका नेताहरुले गरिरहेको पहल र प्रयत्नका बिच एक अर्कालाई ‘काउन्टर’ दिन ब्युझाइएका फोर्सले अरु कसैलाई सक्ने होइन, एमाले आफै सकिने बाटोमा पुग्ने हो । यसबेला अहिले भइरहेको गतिविधिमा विपक्षी, प्रतिस्पर्धीले खुसी भएरै काँध थपथपाउन सक्छन्, तर एमाले नेताहरुमा हेक्का हुनुपर्छ कि एमाले नरहँदा नेताहरुको भविष्य कहाँ सुरक्षित होला र ?