असमानता अन्त्यमा पण्डितको पहल

सम्पादकीय
समानताको आदर्श या नारा अलाप्ने जति छन्, उनीहरुले मात्रै समानताका लागि यथोचित कदम चाल्ने र पूर्णतयाः सघाउने हो भने पनि नेपालमा समानताको आन्दोलन व्यावहारिक रुपमै धेरै परिवर्तित अवस्थामा हुन्थ्यो । बिडम्बना भन्नुपर्छ कि हामी २१ औं शताव्दीको विज्ञान प्रविधिको युगमा छौ । तर, हामी शताब्दी पुराना परम्परागत संस्कार संस्कृतिको नाममा रहेको विद्यमान जातीय भेदभावहरुलाई बदल्न सकेका छैनौ, हामी बदलिन सकिरहेका छैनौ । बरु भेदभाव, असमानताहरुलाई फरक शैलीमै बढावा दिने प्रत्यक्ष परोक्ष कार्य र गतिविधि गरिरहेका छौ । जसका कारणले देशको संविधान, ऐन कानुनहरुमा जात, बर्ण, लिंग, धर्मका आधारमा विभेद गर्न नपाइने प्रष्ट व्यवस्था छ । र पनि समाज समुदायमा अलिखित रुपमा वर्षौदेखि बिद्यमान जातीय विभेद अन्त्य गर्न आजको दिनमा पनि ठूलो सकसको विषय भइरहेको छ । आज पनि विभेद बिरुद्धको आवाज उठ्दा समाज पक्ष बिपक्षमा बिभाजित हुने दुर्भाग्यपूर्ण परिदृश्य देखिने गरेको छ ।

केही साता अघि मात्रै मुलुकको राजधानीमै कोठा भाँडाका विषयले पुरै देश तरंगित भयो । नेवारी समुदायकी एक घरवेटीबाट कोठामा विभेद भएको विषय आउँदै गर्दा दलित समुदायले दलित भन्दा विभेद भएको ठान्ने हो भने कोटा प्रणाली त्याग्नुपर्ने दलिल पेश गरे । यसले अझै ठूलो संख्या र त्यसमा शिक्षित र सचेत तप्का पनि विभेदलाई कुनै न कुनै रुपमा निरन्तरता दिने पक्षमा छ भन्ने बुझ्न धेरै सोच्नु पर्दैन । विगत भन्दा विभेदमा उल्लेख्य परिवर्तन आएको सत्य हो तर अझै विभेदका पात्र र प्रवृत्तिहरु भिन्न स्वरुप र शैलीमा देखिन थालेका छन् । यसको खिलामा उत्रने, बोल्ने र नयाँ अभियान थाल्नेहरु पनि छन् । पछिल्लो एक साहसिक र सुन्दर उदाहरणको रुपमा वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेल देखिएका छन् । उनले जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि पण्डित पोखरेलले कर्मकाण्ड सिकाएर स्थानीय लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरेका हुन् ।

धर्मले नै जातीय विभेद गरेको छ भन्नेका लागि यो एउटा राम्रो सवक हो । शासकहरुले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई जात, धर्मका नाममा विभाजन गर्ने गरेको लामो फेहरिस्त छ । मानव एउटै जात हो । पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोज्ने प्रवृत्ति बढ्दो छ । यस्तो बेलामा सबै सचेत र संगठित हुन आवश्यक छ । समाज र देशको समृद्धिको कुरा जति गरे पनि समानता, समाज सुसंस्कृत नभई यो सम्भव छैन भन्ने हेक्का हर नागरिकले राख्नुपर्छ । समानताका लागि पण्डित पोखरेलले गरेको यो काम समानताको आन्दोलनमा प्रेरणा र उर्जाको कोशेढुंगा बनोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *